कनकाई । झापाको कनकाई नगरपालिकामा समाजमा विद्यामान हानिकारक अभ्यासहरूका विषयमा अन्तरक्रिया भएको छ ।
राष्ट्रिय महिला आयोगको आयोजनामा शुक्रवार (आज) कनकाईमा बाल विवाह, बहु बिबाह, दाइजो प्रथा, बोक्सीको आरोपलगाएका प्रथाहरू सम्बन्धी एक दिने मधेश केन्द्रित अन्तरक्रिया भएको हो । अन्तरक्रिया कार्यक्रम कनकाई नगर बालबालिका शाखा प्रमुख टीका खतिवडाको संयोजनमा भएको थियो ।
जनप्रतिनिधि, मानव अधिकारवादी, नगरका कर्मचारी, प्रहरीसहित करिब ५० जनाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश नं. १ की कानुन अधिकृत पुष्पलता उप्रेती गरेकी थिइन् ।
अन्तरक्रियाका क्रममा कानुन अधिकृत पुष्पलता उप्रेतीले महिला हिंसाका घटना देशमै सबै भन्दा धेरै प्रदेश नं. १ मा हुने गरेको बताइन् । उनले आत्महत्या, बलात्कार, बहुविवाह जस्ता महिला हिंसाका घटना प्रदेश १ मा धेरै हुने गरेको बताएकी हुन् ।
महिला आयोगकी सदस्य पवित्राकुमारी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सामान्य प्रशासन मन्त्रालयका उपसचिव ओमकार शाहले पारेका थिए । अन्तरक्रिया कार्यक्रममा कनकाई नगरकी उपप्रमुख आशा शर्मा शिवाकोटीको समेत आतिथ्य रहेको थियो ।
महिलाहरूलाई सचेतना जगाएर महिला हिंसा निर्मूलीकरण गर्ने उद्देश्यले आयोगले सुनसरीको दुहबी, मोरङको रंगेली र झापाको कनकाई नगरमा अन्तरक्रिया गरेको आयोगकी कानुन अधिकृत आश्रृती पोखरेलले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन आयोगकी कर्मचारी बिना श्रेष्ठले गरेकी थिइन् ।