विराटनगर : कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। बेलबारी-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई मंगलबार राति नियन्त्रणमा लिएको हो।
उनीहरूलाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ। मंगलबार राति बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मादक पदार्थ पिएका खतिवडाले झगडा गरेका थिए।
होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
पीडित पक्षले इलाकामा आएर अहिलेसम्म जाहेरी नदिएको प्रहरीले जनाएको छ। छलफलको लागि दुवै पक्ष आउने भनिएको र पीडितले जाहेरी दिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए। मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने उनले बताए।