काठमाडौं : 

अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्याइने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्याएर अलपत्र छाड्ने गरेको भेटिएको छ।

नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाइरहेको समेत खुलेको छ। दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’ उपलब्ध गराउँदै आएका छन्। दक्षिणपूर्वी एसियाली केही राष्ट्रले नेपाललाई सशुल्क ‘अनअराइभल’ भिसा दिँदै आएका छन्, त केहीले नि:शुल्क।
मानव तस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याई मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ। ‘मानव तस्करले कैयौँ नेपालीलाई पर्यटक भिसामा दक्षिणपूर्वी एसियाली राष्ट्र ल्याई अमेरिका, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, युरोप लगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पारी ठगी गर्दै आएको देखिएको छ,’ थाइल्याण्डका लागि नेपाली राजदूत खगराज अधिकारीले टेलिफोनमा भने, ‘तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ, जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरहेको छ।’

तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। मोटो रकम असुलेपछि अलपत्र छाडेर भाग्ने गरेको पाइएको छ।

