काठमाडौं : गृह मन्त्रालयले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टीकरण दिएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएका हुन्।
‘माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यू नारायणकाजी श्रेष्ठबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको ब्यहोरा अवगत गराउँछु। सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वाञ्छनीय छ। मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानबिन गरी उचित निष्कर्षमा पुर्याउन सबैले सहयोग पुर्याउन समेत अनुरोध गर्दछ,’ मन्त्रालयले भनेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको विषयमा सार्वजनिक संचारमाध्यममा समाचार आएपछि गृहले त्यसको खण्डन गरेको हो।
साथै मन्त्रालयले नेपाल प्रहरीबाट नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी अदालतमा अभियोजन माग दावी लिई मुद्दाको पुर्पक्ष भइरहेको उल्लेख गर्दै भ्रष्टाचार र अपराध नियन्त्रण लगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ।