विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन्। प्रदेशसभा सचिवालयमा संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारलाई विश्वासको मत भने नदिने स्पष्ट पारे। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक रहेको बताउदै उनले उनको त्यसको जवाफ संसदबाटै दिने पनि बताए।
‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानू ठूलो कुरा भएन। तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ’ थापाले भने।
उनले ४ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा०बीचमा एक भएर अघि बढ्ने सहमति भएको जानकारी गराउँदै सहमति अक्षरस पालना हुने दाबी गरे। उनले भने, ‘त्यसमा कुनै शंका गर्नु पर्दैन।’ उनले प्रदेशको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको उल्लेख गरे ।
एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतमै नयाँ सरकार बन्ने पनि उनको भनाइ थियो।
थापाले गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने पनि बताए । तर, सरकारका विषयमा शीर्ष नेतृत्वले गरेको निर्णय स्वीकार्य हुने उनी बताउँछन्।