Aamsanchar

राप्रपाले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने जिम्मा लिङ्देनलाई दियो

Author Image
शनिवार, असार १६, २०८०

विराटनगर –कोशी प्रदेशको सरकार गठनका लागि काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने राप्रपाले सङ्केत गरेको छ ।राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरू तथा पार्टीका पदाधिकारीहरूसँग अध्यक्ष राजेन्द्र लिङ्देनले झापास्थित आफ्नै निवासमा छलफल गरेका थिए । उक्त छलफलले सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको राप्रपाकी सांसद सविना बजगाईले बताइन् । राप्रपाले प्रदेशमा सम्भावित मध्यावधि निर्वाचन रोक्न हुन सक्ने प्रयास र नयाँ सरकार गठन प्रक्रियामा राप्रपाको भूमिकाको विषयमा छलफल गरेको हो । ‘हामीले राजनीतिक चरित्र देखाएर यसअघि एमालेसँग भएको सहमति र सहकार्यअनुसार  शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा मतदान गरेका हौँ । अझै पनि उहाँले बहुमत जुटाउन सक्नु भयो भने उहाँलाई नै सहयोग गर्ने, बहुमत जुटाउन नसकेको खण्डमा विकल्प खोल्न अध्यक्षलाई जिम्मा दिने निर्णय भएको छ,’ उनले भनिन् । बजगाईंले आफूहरू कुनै पनि दलसँग छलफलको लागि खुला रहेको बताइन् ।

छलफलमा मध्यावधिमा जाने वा नजाने भन्ने विषय पनि उठेको थियो । ‘हामीले मध्यावधिमा जानबाट सकेसम्म रोक्ने, नभए मध्यावधिमा जान पनि तयार हुनुपर्छ भन्ने कुरामा छलफल पनि भयो,’ उनले भनिन् ।

पुस २४ गते एमालेका हिक्मत कार्की नेतृत्वको सरकार गठन हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो । यसैबीच नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र र गठबन्धन दलका नेताहरू काठमाडौँ पुगेका छन् । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रिया भने भोलिदेखि सुरु हुने अनुमान छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि दलहरूलाई आव्हान गर्न सक्ने सो कार्यालयले जनाएको छ । प्रमुख खापुङ दलहरूसँग र कानुन व्यवसायीसँग संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठन गर्ने भन्ने विषयमा परामर्शमै रहेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले दाबी गर्दै आएको छ । गठबन्धनले बहुमत ४७ सहित सरकार गठनको दाबी गर्दा सभामुखलाई समेत गणना गर्नुपर्ने अवस्था छ ।

उता, विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको कारण सोही अनुसार सरकार गठन हुनुपर्ने जिकिर गरिरहेका छन् ।

अहिले एमालेसँग रहेको राप्रपा गठबन्धनसँग आए सहज बहुमतसाथ सरकार गठन हुनसक्छ । गठबन्धन दलका कांग्रेससँग २९, माओवादीसँग १३, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग  १ जना सांसद छन् । राप्रपाका ६ सांसद सरकारमा सामेल हुन आए ५३ मतसहितको सरकार गठन हुनसक्छ । एमालेको सांसद सङ्ख्या ४० रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर