Aamsanchar

काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भए चिनका किसान

Author Image
मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं –पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन लिन उनीहरु सफल भएका हुन् ।

किसानहरुले परम्परागत रुपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरुको भनाइ छ ।

विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ ।

जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणको लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरकफरक रुपमा छनोट गरिएको खेतमा विज्ञहरुले परीक्षण गरेका थिए ।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय, पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताए । उनले भने, “रेटुन धान सिजनमा दुईपटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको बचत गर्छ ।”

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल एक लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धान कर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए ।

रेटुन एक कृषि विधि हो, जसमा लगाइएको बालीमा एकपटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिन्छ । जस्तै, उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ ।

यसले समय र श्रमको बचत हुन्छ । यससँगै किसानले कम लागत, दक्षता वृद्धि, माटोको संरक्षण, छिटो उत्पादन र कम वातावरणीय प्रभावका साथै दिगो रुपमा भूमिको प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)