Aamsanchar

तीनकुने हत्या प्रकरण : जन्मकैद सजाय माग गर्दै प्रतिवेदन बुझाइयो

Author Image
बिहिवार, असोज २५, २०८०

काठमाडौं – गत भदौ २९ गते राति काठमाडौं–३२ गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले दिव्य समिल एवं काष्ठ उद्योगमा चारजनाको हत्या प्रकरणको अनुसन्धान सकिएको बताए।

प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा सामूहिक हत्या व्यक्तिगत रिसइबीका कारण भएको उल्लेख छ। प्रवक्ता ढुंगेल भन्छन्, ‘सामूहिक हत्यामा सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सलग्नता छ। भण्डारी फरक क्षमताका व्यक्ति हुन्। उनलाई जन्मकैदको सजाय मागदाबी गर्दै प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको हो।’

अनुसन्धानका क्रममा प्रहरीले नेपालमा पहिलोपटक ब्रेन म्यापिङ विधिको प्रयोग गरेको थियो। दोभासे प्रयोग गरेर सोधपुछका क्रममा आरोपी सञ्जयले अन्य ठाउँमा पनि हत्या गरेको बताएपछि प्रहरीले उनको मानसिक अवस्था परीक्षण गर्ने विधि ‘ब्रेन म्यापिङ’ प्रयोग गरेको थियो।

उनको दिमागी अवस्था परीक्षण गर्दा अन्य मानिसको तुलनामा उनको अवस्था अत्यन्तै तीक्ष्ण र तेज रहेको थियो। प्रहरी अधिकृत भन्छन्, ‘परीक्षणका क्रममा उनको मानसिक अवस्था अन्य सामान्य मानिसभन्दा डबल तीक्ष्ण भेटिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले तीनकुने घटनाको प्रतिवेदन आएको पुष्टि गरे। उनी भन्छन्, ‘सरकारी वकिल कार्यालयमा जन्मकैदको मागदाबीसहितको प्रतिवेदन प्राप्त भएको छ। यसमा हामीले अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्छौं।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेका थिए। उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको प्रमाण प्रहरीले फेला पारेको छ। तीनकुने हत्या प्रकरणको अनुसन्धान गर्न राठौरको नेतृत्वमा ५ सदस्यीय अनुसनधान समिति पनि गठन भएको थियो।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा भएको घटनामा दिव्य समिलमा काम गर्ने कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो। सामान्यतया अपराध अनुसन्धानको सत्यतथ्य जाँच गर्नका लागि पोलिग्राफ विधि प्रयोग गर्ने गरिन्छ। तर, यस घटनामा आरोपी बोल्न नसक्ने भएकाले नयाँ प्रविधिको प्रयोग गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र कार्कीले अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि ‘ब्रेन म्यापिङ’ प्रयोग गरिएको हो। यो विधि मानसिक रोगका बिरामीहरूको उपचार गर्नका लागि प्रयोग हुँदै आएको छ।

ब्रेन म्यापिङमार्फत मस्तिष्कभित्र संग्रह भएका तरंगको चालअनुसार सम्बन्धित व्यक्तिले सत्य बोलिरहेका छन् या छैनन् भन्ने संकेत पाउन सकिन्छ। भदौ २९ गते राति ११:५५ बजेको समयमा उक्त घटना भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर