Aamsanchar

फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान

Author Image
बिहिवार, फागुन १०, २०८०

काठमाण्डौ – सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

प्रवक्ता डा।बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिनुभयो । दादुरा–रुबेला भएका बेला ज्वरो तथा शरीरमा राता बिमिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुनेगर्छ ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ । सरकारले अबको दुुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर