बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई दिवसीय जीवन बदल्ने कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कै नम्बर १ मा पर्न सफल बनेको साकोसले २९ औं स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा दिवस मनाउँदै जीवन बदल्ने कार्यक्रम आयोजना गरेको हो ।
मनोक्रान्ति अभियानका पथप्रदर्शक डा.योगी बिकासानन्दले जीवन बदल्ने सूत्रको बारेमा प्रवचन दिएका छन् । आज एक औपचारिक कार्यक्रम आयोजना गरेर उद्घाटन भएको कार्यक्रममा सहारा नेपालको इतिहास झल्कने फोटो प्रदर्शनी पनि गरिएको थियो । भोलि युवा लक्षित सुपर लर्निङ, तनाव व्यवस्थापन र स्वास्थ्य शिविर सञ्चालन हुने संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कार्यक्रममा आफ्नो प्रवचन अघि डा। योगीले स्थापनाको शुभकामना दिदै सहारा नेपाल सहकारीहरूको विश्व विद्यालय भएको बताएका थिए । उनले सहाराले गर्ने कार्य, तौरतरिका तथा व्यवस्थापन सबै सहकारीले अवलम्बन गर्नु पर्नेमा जोड दिए ।

साकोसका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आज भएको उद्घाटन कार्यक्रममा पूर्व उपउप्रधानमन्त्री तथा प्रतिनिधि सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्य रहेको थियो ।


कार्यक्रममा साकोसका सदस्य, कर्मचारी, स्थानीय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।



