Aamsanchar

वर्षाका कारण विपद् मा परेका १५० जनालाई बिर्तामोड वाणिज्य संघले व्यवस्थापन गर्ने, ‘उद्धारमा हेलिकप्टर पनि प्रयोग गर्न सकिने’

Author Image
शुक्रवार, असार ७, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित उद्योग वाणिज्य संघले विपद्मा परेका १ सय ५० जनालाई व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ ।
विपद्मा परेका नागरिकलाई उद्धार तथा तत्कालीन अवस्थाको लागि आधारभूत सुविधा उपलब्ध गराउन वाणिज्य संघ तयारी अवस्थामा रहेको आज वाणिज्य संघले आयोजना गरेको विपद् व्यवस्थापनमा संघसंस्थाको भूमिका विषयमा जनचेतना मूलक कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।  सामाजिक संघसंस्था हरू सँग सहकार्य गरेर वाणिज्य संघको अतिथि सदनमा विपद् मा परेका नागरिकहरूलाई अस्थाई रुपमा व्यवस्थापन गर्न सकिने अध्यक्ष न्यौपानेले बताए । उनले विपद् व्यवस्थापनको लागि सबै संघसंस्थाहरू मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

झापामा सामान्य मनसुन सुरु हुदै बाढीका कारण विपद् सुरु भएको छ । विज्ञहरूको पूर्वअनुमान अनुसार यस वर्ष धेरै पानी पर्ने र कोशी प्रदेश धेरै पानीका कारण प्रभावित हुने सूचना सार्वजनिक भएको छ । ठुलो विपद् आईपरेको खण्डमा विपद् व्यवस्थापनको लागि पूर्व तयारीमा जिल्ला विपद् व्यवस्थापन टोली रहेको छ ।  तीनवटै सुरक्षा निकायको विपद् व्यवस्थापन टोली रहेको छ । विपद् व्यवस्थापनको लागि जिल्ला स्तर र स्थानीय तहहरूमा बजेट सहित जनशक्ति तयारी अवस्थामा रहेको छ । आवश्यक परेको खण्डमा उद्धारको लागि प्रदेश मार्फत हेलिकप्टर पनि प्रयोग गर्न सकिने छ । विपद् व्यवस्थापनको लागि हेलिकप्टर तैनाथ रहेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । उनले भने ‘बिपद् व्यवस्थापनका लागि पूर्व तयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको छ । झापामा हुन सक्ने विपद् जोखिमको अध्ययनको काम भइरहेको र जनस्तरमा पुगेर राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियान समेत जारी राखेका छौं ।’

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।
सहारा नेपाल सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाब दिए । उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकम मध्ये केही रकम मौजात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाब दिए ।

सबै झापाली मिलेर एक सय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सकिन्छ उनले भने – जुन कोषबाट  प्राप्त आम्दानीले आइपर्ने विपद्मा राहत र उद्धारमा सहयोग पुग्छ ।
‘एकका लागि एक अभियान’ मार्फत जम्मा भएको रकम मध्ये ८० लाख रुपैयाँ रहेको र त्यसको ब्याज सहित झण्डै एक करोड रुपैयाँ खातामा मौजाद छ अध्यक्ष गिरीले भने – अब हामीले पाँच करोड रुपैयाँको कोष स्थापना गर्न चार करोड रुपैयाँ मात्र जम्मा गर्नु पर्छ ।

मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले विपद् बारे अध्ययन र योजना बनाउन नसक्दा बाढी जन्य विपद्का कारण बर्षेनि झापावासीले सास्ती बेहोर्दै आएको र त्यसलाई न्यूनीकरणका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए । आपत पर्दा हारगुहार भाग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङको भनाई छ ।
नेपाली कांग्रेस झापाले समेत गाउँ स्तरसम्म विपद व्यवस्थापनमा जुट्न संयन्त्र बनाएको र व्यवसायीले समेत यो खाले तदारुकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विपद् व्यवस्थापनमा आफू सहयोग गर्न तत्पर रहेको समेत बताए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली लगायतले आ आफ्नो धारणा राखेका थिए ।
जिल्लाका तीन दर्जन बढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)