बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित इलामेली होटल एण्ड खाजा घरमा कञ्चनश्री नामक ब्राण्डको सुजी खानलाई पकाउदा अखाद्य वस्तु मिसावट भएको पाइएको हो । ‘छोरीलाई स्कुलमा खाजा बनाईदिन भनेर सुजी बनाएको थिए । पानी हालेको १० मिनेटपछि सुजी त प्लाष्टिक मिसिएकोजस्तो लामो लेदो बन्यो’ होटल एण्ड खाजा घरका सञ्चालक टंक कट्टेलले भने । उनले आइतबार स्थानीय किराना पसलबाट उक्त सुजीको प्याकेट किनेर ल्याएका थिए ।
‘केटाकेटीलाई खाजा राम्रो हुन्छ भनेर ल्याएको सुजीमा प्लाष्टिकको लेदो देख्दा हामी छक्क परेका छौं’ कट्टेलले भने,‘यस्तो अखाद्य वस्तु मिसावट गर्ने उद्योगलाई सम्बन्धित निकायले तत्काल अनुगमन गरेर कारबाही गर्न जरुरी छ ।’ कम्पनीले भने कञ्चनश्री ब्राण्डको सुजी उद्योगको उत्कृष्ट उत्पादन भएको दाबी गरेको छ ।