Aamsanchar

भारतमा देखिन थालेको जिका भाइरस संक्रमणबाट नेपाललाई कति जोखिम ?

Author Image
शुक्रवार, असार २१, २०८१

काठमाडौँ – भारतमा भारतमा जिका भाइरसको संक्रमण देखिन थालेको छ। पश्चिमी राज्य महाराष्ट्रमा अहिलेसम्म जिका भाइरस संक्रमणको आठजना विरामी भेटिएको अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जनामा, अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो।

यसरी नेपालसँग खुला जोडिएको भारतमा जिका भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसको जोखिम उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भने‚ ‘जति पनि सरुवा रोग छन्‚ ती भारतमा देखिएपछि हामी एकदमै उच्च जोखिममा पर्छ जसको प्रमुख कारण हाम्रो खुला सिमाना हो। त्यसैले अहिले जिका संक्रमण भारतमा देखिएपछि हामीलाई पनि जोखिम बढेको छ अब हामीले भारतम संक्रमणदर हेरेर सीमामा अझै सतर्कता अपनाउने निर्णय गर्छौँ।’

जिका भाइरसको संक्रमणको सबैभन्दा धेरै जोखिम समूह भनेको गर्भवती महिला भएको हुँदा नेपालमा गर्भवती परीक्षण हुने ठूला अस्पतालमा यस्ता लक्षण भएका गर्भवती भएरनभएको विशेष ख्याल गर्न समेत निर्देशन दिइसकेको प्रवक्ता डा। बुढाथोकीले बताए।

नेपालमा केही वर्ष अगाडि डेंगु र चिकनगुनिया भाइरससँगै जिकाको पनि पहिचानको परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै हुँदै आएको छ।

यो भाइरसको जोखिममा विशेषगरी गर्भवती हुन्छन्, यो भाइरसले पेटमा भएको बच्चाको मस्तिष्कको विकास कम गराउने, टाउको सानो हुने तथा अपाङ्ग बच्चा जन्मने जोखिम समेत हुने हुँदा गर्भवती महिलाहरूलाई विशेष निगरानीमा राख्नुपर्ने हुन्छ।

के हो जिका भाइरस ?

जिका भाइरस सबैभन्दा पहिले सन् २०१५ मा ब्राजिलमा देखिएको थियो। ब्राजिलमा यो भाइरस फैलिएपछि जन्मिएका बालबालिकाहरूमा टाउको आकार सानो हुने ‘माइक्रोकेफाली’को समस्या देखिएको थियो। धेरै बालबालिकामा यस्तो समस्या देखिएपछि जिका भाइरस संक्रमणले गर्दा यस्तो समस्या देखिएको पुष्टि भएको थियो।

विश्व स्वास्थ्य संगठनले पनि सन् २०१६ मा जिका भाइरसलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेको थियो। सन् २०१७ मा भारतको गुजरात राज्यमा ३ जनामा जिका भाइरसको संक्रमण देखिएको थियो भने सन् २०१८ सम्म मध्य प्रदेश र राजस्थानसम्म फैलिएको थियो।

तीन वर्षपछि सन् २०२१ को जुलाई महिनामा जिका भाइरसले भारतमा फेरि देखिएको थियो। अहिले फेरि भारतमा जिका भाइरस संक्रमण देखिएको छ।

यौनसम्पर्कबाट समेत सर्छ जिका भाइरस

जिका भाइरस एडिस नामक लामखुट्टेको टोकाइबाट मुख्य गरी सर्ने र यो भाइरस संक्रमित गर्भवती भए आमाबाट पेटको बच्चामा समेत यो भाइरस सर्ने गर्छ। यस्तै संक्रमित व्यक्तिसँगको यौनसम्पर्कबाट समेत जिका भाइरस सर्ने गर्छ।

जसले गर्दा जो कोही यो भाइरस फैलिरहेको स्थानमा पुगेर फर्किएको छ भने यौनसम्पर्क राख्नु हुँदैन। लामखुट्टेबाट सर्ने भए पनि पछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा यौनसम्पर्कको माध्यमबाट पनि सर्न सक्ने हुँदा सबैले सतर्कता अपनाउनु आवश्यक हुन्छ।

कस्तो हुन्छ यसको लक्षण

जिका भाइरस संक्रमण हुँदा ज्वरो आउनु, शरीरमा बिबिरा देखिनु, आँखा रातो हुनु, मांसपेशीका दुख्ने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखिए सतर्कता अपनाउनुपर्छ।

यो भाइरस विशेषगरी एडिस जातका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हुँदा यो प्रजातिको लामखुट्टे नेपालमा प्रशस्तै रहेको हुँदा घर वरपर सरफाइ गर्नुपर्ने र सकभर लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने र संक्रमित धेरै रहेको क्षेत्रबाट फर्किएकाहरूले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर