बिर्तामोड । झापाको बिर्तामोड स्थित पावरटेक कम्प्युटर सेन्टरमा ओजेटी तालिमका लागि पठाएको छात्रा उपर बालयौन दुव्र्यवहार भएको प्रति छात्रा पढने बिद्यालयले घटनाको निन्दा गर्दै दोषी उपर कडा कानुनी कारवाहीको माग राखेको छ ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बेलडाँगीमा रहेको श्री वीर अमरसिंह माध्यमिक विद्यालयले आज ( मंगलबार) विद्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर पावरटेकका सञ्चालक अलोक मेचे र प्रशिक्षक नारायण खनाल उपर मुलुकी अपराधसंहिता २०७४ को दफा २२५ बमोजिम हदैसम्मको सजाय र जरिवाना गरी कसुरदारहरूलाई सोही ऐनको दफा २२८ बमोजिम उचित क्षतिपुर्तिको माग राखिएको हो ।
प्राविधिक धार तर्फ कक्षा १० को एसईई परीक्षा पछि ३ सय कार्यघण्टा, कक्षा ११ को पूर्ण परीक्षा पछि ३ सय कार्यघण्टा र कक्षा १२ को अन्तिम बोर्ड परीक्षा पछि ६ सय कार्यघण्टा ओजेटी (व्यवहारिक अभ्यास शिक्षण) गरेपछि मात्र प्राविधिक धा।का विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डले भाइभा परीक्षा लिएपछि १०० पुर्णङ्कको परीक्षा पुरा हुने भएकाले विद्यालयले उक्त पावरटेकमा ५ जना विद्यार्थीलाई प्रशिक्षणको लागि पठाएको थियो ।
५ जना विद्यार्थी मध्ये एकजना छात्राले आफूमाथि यौन दुर्व्यवहार भएको बताएपछि पीडित छात्रा र विद्यालयको तर्फबाट प्रहरीमा उजुरी दर्ता गराइएको छ । अरु विद्यार्थीवर्गमा पनि दुर्व्यवहार भएको हुनसक्छ, पीडकहरू उपर शुस्म अनुसन्धानको माग राखिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष किशोर पौडेलले जानकारी दिए ।
१८ वर्ष पुरा भएपछि आइफोन किनिदिने भन्दै उनीहरूले विद्यार्थीको संवेदनशील अङ्गमा छुने, सुम्सुम्याउने, नदिए ओजेटीको प्रमाणपत्र नै नदिने र विद्यार्थीलाई घुम्न जान दवाव दिने जस्ता त्रास देखाएर छात्रामाथि यौन हिंसा गर्ने गरेको प्रधानाध्यापक अधिकारीको भनाई छ ।
विद्यार्थीमाझ यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेसँगै मेचे र खनाल पक्राउ परेका थिए । तर, मेचे रिहा भएका छन् भने खनालमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको पावरटेक कम्प्युटरमा व्यवहारिक अभ्यास शिक्षण (ओजेटी) का लागि विद्यालयले सम्झौता भङ्ग गरि विद्यार्थी फिर्ता बोलाउने निर्णय गरेको छ ।
किशोरकुमार पौडेलको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू धर्म लक्सम्वा, जीवनकुमार खड्का, पंकज बजगाईँ, नीता घतानी, वीरबल राजवंशी, रीता मिश्र, पूर्व अध्यक्ष शंकर रिजाललगायतको उपस्थिति रहेको थियो ।
भिडियो पनि हेरौं ।