Aamsanchar

किन घट्यो पूर्वी तराईमा जुटखेतीतर्फ किसानको आकर्षण ?

Author Image
बिहिवार, भदौ १३, २०८१

मोरङ – जुटले उचित मूल्य नपाउँदा पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदेबालीका रूपमा लगाउने गरिएको जुटखेतीतर्फ किसानको आकर्षण घटेको छ । मोरङको धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएको बताउनुभयो ।

केही वर्ष अघिसम्म तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरिएको उहाँले बताउनुभयो । तराईका अन्य खेतीभन्दा जुटखेती धेरै झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको बताइएको छ । काम गर्ने जनशक्ति पनि अभाव रहेको छ ।

जहदा गाउँपालिका–७ का किसान राजनिश सिंहले जुटखेतीलाई आधुनिकीकरणतर्फ जोड्न नसक्दा र उचित मूल्य नपाउँदा पछिल्लो समय जुटखेतीको आकर्षण घट्दो रहेको बताउनुभयो ।

किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए पनि तथ्याङ्कमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन, आव २०७९/८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन र आव २०८०/८१ मा सात हजार सात सय ३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट पनि जुट आयात हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर