शिक्षण सहायता प्रणाली अन्तर्गत शिक्षा शाखाले शिक्षकको पेशागत विकासका लागि गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर खड्काले यस्तो निर्देशन दिनुभएको हो ।
सामुदायिक शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा नगरेका कारण विद्यार्थी संख्या घटेको भन्दै जागिरे मानसिकताबाट माथि उठेर पठनपाठनमा लाग्न सुझाव दिनुभयो । सामुदायिक विद्यालयमा राम्रो पढाई नहुँदा अभिभावकले महँगो शुल्क तिरेर छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउन बाध्य भएको भन्दै उहाँले त्यस्ता कमजोरी आगामी दिनमा नदोहोराउन आग्रह गर्नु भयो ।
‘तपाईँहरूले मेहनतका साथ नपढाउँदा अभिभावक महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन् ।’ मेयर खड्काले भन्नुभयो, ‘सरकारी शिक्षकका लागि योभन्दा लाजमर्दो कुरा के हुन्छ ?’ रिजल्ट राम्रो दिन नसक्ने शिक्षकलाई कुनै न कुनै प्रकारको नसियत दिइने उहाँले चेतावनी दिनुभयो । शिक्षा आयोग पास गर्न नसकेका शिक्षकले निजी विद्यालयमा पढाउँदा रिजल्ट राम्रो आउने तर आयोग पास गरेका शिक्षकले पढाउँदा रिजल्ट राम्रो नहुनु दुःखद भएको भन्दै मेयर खड्काले पठनपाठनमा लापरवाही गर्ने शिक्षक देश निर्माणका बाधक मानिने बताउनुभयो ।
सरकारी विद्यालयका शिक्षकले छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेको पाइएको भन्दै उहाँले आगामी शैक्षिक सत्रदेखी तुलसीपुर उपमहानगरका कुनै पनि सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने बताउनुभयो ।
‘तपाईँले सरकारी स्कुलमा पढाउने । अनि छोराछोरी निजी विद्यालयमा पढाउनुहुन्छ भने त्यो तपाईँको आफैँ प्रतिको अविश्वास हो ।’ उहाँले भन्नुभयो, ‘मावि सेन्टरबाट यसको सुरुवात गरिसकाछौँ । आगामी बर्षदेखी यहाँका सबै शिक्षकले छोराछोरी अनिवार्यरूपमा सरकारी विद्यालयमै पढाउनुपर्छ ।’ तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयलाई तीन श्रेणीमा विभाजन गरी शिक्षकको पेशागत विकासका लागि शैक्षिक सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।