Aamsanchar

अर्जुनधारा : पूजामा प्रसाद खाएका ५० जनाभन्दा बढी बिरामी  

Author Image
बुधवार, भदौ २६, २०८१

बिर्तामोड । पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको छ ।

अर्जुनधारा –९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको एक बिरामीले बताए । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।

बिरामी हुनेमा बालबालिकादेखि लिएर बृद्धबृद्धासम्म रहेका छन् । बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । क्लिनिकमा कम्तिमा पनि ३० जनाको उपचार भइरहेको छ । यस्तै, गाउँकै अन्य क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको बताइएको छ ।

क्लिनकमा बेड अभाव भएर बार्दली, कम्पाउण्ड, बेञ्चलगायतका स्थानमा बिरामीको उपचार भइरहेको छ ।
यस्तै, बिरामी भएर गाउँमै रहेका ८ जनालाई नगरपालिकाको गाडीले शनिश्चरे अस्पताल उपचारका लागि ल्याएको छ । यसैबीच, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देनलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था निरीक्षण गरेका छन् । आज साँझ बिरामी भएको खबर पाउनासाथ स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुखको टोली क्लिनिक र अस्पताल पुगेको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 54

प्रतिक्रिया (०)