बिर्तामोड।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मादक पदार्थ सेवन गर्नेबाट १० लाख ५३ हजार राजश्व संकलन गरेको छ ।चालू आर्थिक बर्षको साउनदेखि बैशाख १८गतेसम्म मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कार्वाही गर्दै प्रहरीले उक्त रकम राजश्व संकलन गरेको हो । प्रहरीले १० महिनाको अवधिमा १ हजार ५३ वटा सवारी साधनलाई कार्वाही गरेको छ । कार्वाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
प्रहरीले ८ सय ४८ वटा मोटरसाइकललाई कार्वाही गर्दा ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ । मोटरसाइकलपछि कार, जीप र मेन चालक सबैभन्दा बढी कार्वाहीमा परेका छन् । ८५ वटा कार, जीप र भेन कार्वाहीमा पर्दा ट्राफिक प्रहरीले ८५ हजार रुपैयाँ राजश्व उठाएको छ ।
त्यस्तै ४३ वटा ट्याक्टर कार्वाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी दुर्घटनाको कारण मादक पदार्थ सेवन भएको जनाउँदै ट्राफिक प्रहरीले कार्वाहीलाई तीब्रता दिएको हो । साउनदेखि बैशाख १८ गतेसम्मको समय अवधिमा झापाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरु कार्वाहीमा परेका हुन् ।
ट्राफिक नियम उल्लंघन गर्दा २ करोड ३८ लाख राजश्व
झापाका सडकमा गुड्ने सवारीले ४० हजार सात सय ५९ पटक ट्राफिक नियम उल्लंघन गरेका छन् । जसबाट ट्राफिक प्रहरीले दुई करोड ३८ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
चालू आर्थिक बर्षको १० महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी नियम उल्लंघन गर्ने सवारी धनीलाई कार्वाही गर्दै उक्त रकम राजश्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने सवारी मध्ये सबैभन्दा बढी मोटरसाइकल नै रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख डुण्डीराज गिरीका अनुसार १६ हजार ५ सय १ पटक मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गरेका छन् ।
जसबाट प्रहरीले १ करोड १ लाख हजार रुपैयाँ राजश्व संकलन गरेको छ । हेल्मेट नलगाई मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गर्दै मोटरसाइकल चलाउने, मोटरसाइकलमा तीन जना चढाउने र सवारी दर्ता किताब लगायतका आवश्यक कागजात नबोकी हिंड्नेलाई कार्वाही गर्दा उक्त राजश्व संकलन भएको बताइएको छ । प्रहरीले सो अवधिमा सात हजार ६ सय ४३ पटक ट्रकलाई ट्राफिक नियम उल्लंघन गर्दा कार्वाही गरेको छ । जसबाट ४३ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै चार हजार ८ सय ५५ पटक बसले सवारी नियम उल्लंघन गरेका छन् । जसबाट २७ लाख १७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । कार, जीप र मेनले ४ हजार ४ सय ७९ पटक नियम उल्लंघन गरेका छन् ।
जसबाट २४ लाख ९० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । ५ हजार ३ सय ५ पटक ट्याक्टरले ट्राफिक नियम उल्लंघन गरेका छन् । जसबाट २६ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी एक हजार ९ सय ५६ पटक टेम्पोले ट्राफिक नियम उल्लंघन गरेका जसबाट १० लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
दुर्घटनामा ६८ को मृत्यु
चालू आर्थिक बर्षको १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी झापामा ६८ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न स्थानमा भएका दुर्घटनामा परी ६८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । १० महिनाको अवधिमा झापामा १ सय ५५ पटक सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा परी ५५ जना पुरुष र ११ जना महिलाले ज्यान गुमाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गिरीले बताए । गिरीका अनुसार दुर्घटनामा २ बालकको समेत ज्यान गएको छ । दुर्घटनामा परेका सवारी मध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । सो अवधिमा १ सय ९ पटक मोटरसाइकल दुर्घटना भएको छ । अघिल्लो आर्थिक बर्ष सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको थियो । आर्थिक बर्ष ०७१÷०७२मा ६६ र आर्थिक बर्ष ०७०÷०७१मा ६२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्यांकमा उल्लेख छ ।
कार्वाही कम राजश्व बढी
आर्थिक बर्ष ०७२÷०७३मा जिल्लामा ४२ हजार दुई सय ६० पटक ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्वाहीमा परेका थिए । जसबाट ट्राफिक प्रहरीले एक करोड ७६ लाख ८१ हजार तीन सय रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, चालू आर्थिक बर्षको १० महिनामा ट्राफिक प्रहरीले दुई करोड ३८ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

तर, सो अवधिमा ट्राफिक प्रहरीले ४० हजार ७ सय ५९ पटक सवारी साधनले मात्रै कार्वाही गरेको छ । अघिल्लो आर्थिक बर्ष कार्वाहीमा परेका सवारी साधन बढी थिए भने राजश्व कम र यस बर्ष राजश्व बढी र कार्वाहीमा परेका सवारीको पटक भने कम छ ।

