

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् । भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा सेयर लिएको कागजात सार्वजनिक भइरहेका बेला यसबारे तत्काल स्पष्ट पार्न उनले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वसँग माग गरेका हुन् ।
सोमबार(वैशाख ७)पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चारमाध्यममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले ‘स्टन्ट’का भरमा देश नचल्ने भन्दै सरकारको आलोचना समेत गरे ।
सडकछेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

“सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चारमाध्यममा जे आइराखेको छ, त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोसिजन क्लियर गर्नुपर्छ,” उनले भने, “पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।”
उनले अगाडि भने, “मैले अस्ति भर्खरै सञ्चारमाध्यममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाइसेन्स नवीकरण गर्न गएको थिएँ, लाइसेन्स पाइनँ । तर, बाँडिराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।”



