Aamsanchar

पुर्व गृहमन्त्री श्रेष्ठले भने : रवि लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक

Author Image
बुधवार, कार्तिक ७, २०८१

विराटनगर- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता श्रेष्ठले सभापति लामिछाने पक्राउ परेको विषयमा छानबिन र अनुसन्धान स्वाभाविक भए पनि नेता विशेषका आधारमा भेदभावपूर्ण व्यवहार हुन नहुने बताउनुभएको हो ।

उहाँले निष्पक्ष छानबिन हुनुपर्ने आफूहरूको मत रहिआएको भए पनि व्यवहारमा सरकारले निष्पक्ष ढङ्गबाट अनुसन्धान अघि बढाउन नसकेको भन्ने नै परेको बताउनुभयो । सत्तारुढ दलका नेताहरूमाथि छानबिन नहुने तर विपक्षी नेतालाई मात्र पक्राउ गरेर अनुसन्धान गर्दा जनताले निष्पक्ष छानबिन भएको स्वीकार नगरेको उहाँको भनाइ थियो । सँगसँगै उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने र निर्दोष कसैलाई दुःख दिने काम राज्यले गर्न नहुनेमा जोड दिनुभयो ।

भ्रष्टाचारविरुद्ध काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने तयारी गरिरहेको माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको पनि नेता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारतिर हाम्रो आँखा छैन । आन्दोलन सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन, देश र जनताको समस्याका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने उद्देश्यले सरकारका कमजोरीहरुविरुद्ध खबरदारी सभा आयोजना गरेका हौँ ।’’

यसैगरी, बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनर्स्थापनामा पनि सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको उहाँको टिप्पणी थियो । ‘‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठुलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनर्स्थापना, पुनर्निर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन भनेका हौँ ।’’ श्रेष्ठले भन्नुभयो ।

नेता श्रेष्ठ मोरङको सुन्दर हरैंचामा वाइसियल नेपालको जिल्ला कार्यालय उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न आउनुभएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर