Aamsanchar

कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढ्दाे

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

विराटनगर-कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढेको छ । सङ्क्रमणका कारण चालु वर्षमा चार जना नाबालकसहित ६ जनाको मृत्यु भइसकेको छ । प्रदेशका विभिन्न अस्पतालमा थप १६ जना उपचार गराइरहेका छन् ।

मस्तिष्क ज्वरोको समस्या हुने इन्सेफ्लाइटिसबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित देखिएको छ । त्यसपछि झापा र उदयपुर जिल्लामा सङ्क्रमण देखिएको छ । गएको वर्ष कोशी प्रदेशमा इन्सेफ्लाइटिसको सङ्क्रमणबाट कसैको पनि ज्यान गएको थिएन । गत वर्ष नियन्त्रणकै अवस्थामा रहेको यो रोगको सङ्क्रमण यस पटक अधिक मात्रामा फैलिएपछि सन्त्रासको अवस्था उत्पन्न भएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाका अनुसार बुधबारसम्म कोशी प्रदेशको सुनसरीमा ३, झापामा २ र उदयपुरमा एक जनाको ज्यान गएको छ । चार जना पुरुष र दुई जना महिलाको मृत्यु भएको जसमा चार जना नाबालक छन् ।

धानखेती र बङ्गुरपालन भएको क्षेत्रमा यो रोगको सङ्क्रमणको जोखिम बढी हुन्छ । विशेषगरी क्युलेस जातको लामखुट्टे ‘सेतो लामखुट्टे’को टोकाइबाट यो रोग फैलिने गर्दछ । यो रोगको सङ्क्रमणको जोखिम साउनदेखि कात्तिक महिनासम्म रहने भएकोले गत भदौमा स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो । विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताएका थिए । तर कात्तिक दोस्रो साता सुरु भइसक्दा पनि इन्सेफ्लाइटिसको सङ्क्रमण रोकिएको छैन ।

इन्सेफ्लाइटिस सङ्क्रमणमा परेकाहरुले महँगो उपचार गर्नुपरेको भन्दै सरकारले नै सङ्क्रामक रोगको उपचार गरिदिने व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ । उदयपुर बेलका नगरपालिका–६ का १२ वर्षे एक बालक ७५ दिनदेखि अस्पतालमा इन्सिफ्लाइटिसको उपचार गराइरहेका छन् तर बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको विराट शिक्षण अस्पतालले जनाएको छ ।

परिवारका सदस्यहरुले पनि थप समय अस्पतालमा राखेर उपचार गर्ने आर्थिक क्षमता आफूहरुसँग नरहेको भन्दै सरकारले उपचारको प्रबन्ध गरिदिनुपर्ने बताएका छन् । ‘अस्पताल आउँदा राम्रोसँग छोरालाइ लिएर आयौं । बिरामीको अवस्थामा सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौं अस्पताल र फार्मेसीमा गरेर ७ लाख रुपियाँभन्दा बढी रकम खर्च गरिसक्यौं अरु ८(९ लाख रुपियाँ लाग्न सक्छ भनेर अस्पतालले भनिरहेको छ, यतिधेरै खर्च गर्ने क्षमता हामीसँग छैन, यस्तो सङ्क्रामक रोगको उपचार सरकारले गरिदिनुपर्छ,’ बिरामीका बाबुले भन्नुभयो ।

कोशी प्रदेश सरकारले कोशी कोभिड अस्पताललाई यसअघि सङ्क्रामक रोग उपचार केन्द्रको रुपमा सञ्चालन गरेको थियो । तर त्यसलाई पछि हृदयरोग उपचार केन्द्रमा रुपान्तरण गरेपछि समय समयमा आउने यस्ता सङ्क्रमणहरुको उपचारमा सर्वसाधारणले हैरानीसँगै ठूलो धनराशी खर्च गर्न बाध्य भएका छन् । अहिले कोभिड सङ्क्रमणको उपचार गर्न बनाइएको अस्पतालमा न त सङ्क्रामक रोगको उपचार हुन्छ न त मुटुरोगीहरु नै त्यहाँ उपचारका लागि जान्छन् । अहिले अस्पताल पूर्णरुपमा उपयोगविहीन बनेको छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुरेश मेहताले इन्सेफ्लाइटिस रोगबाट सङ्क्रमित भएकाहरुको उपचार भइरहेको जानकारी दिँदै यो रोगको मृत्यु दर भने उच्च रहेको बताउनुभयो । उहाँले सङ्क्रमण रोकथामका लागि काम थालिसकेको जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । यो रोगको सङ्क्रमण हुँदा बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता लक्षण देखिन्छ । यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाएर रोकथाम गर्न सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर