नवलपुर-तनहुँको बन्दिपुरबाट पिकनिक खाएर फर्कनेक्रममा नवलपुरकी एक जना छात्रा मुग्लिनबाट बेपत्ता हुनुभएको छ ।मध्यविन्दु नगरपालिकाको कुमारवर्ती माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी तनहुँको बन्दिपुर घुम्न गएका थिए । घुमेर फर्कनेक्रममा कक्षा ११ मा पढ्ने १९ वर्षीया बिपना चौधरी बेपत्ता हुनुभएको क्याम्पसले जनाएको छ ।
विद्यार्थी लिएर फर्किँदै गरेको बस नारायणघाट–मुग्लिङ सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न रोकेको थियो । शौच गरेर नफर्किएपछि बिपनाको रातिदेखि नै खोजी सुरु गरिएको क्याम्पसका शिक्षक नारायण अर्यालले बताउनुभयो । विद्यार्थी बेपत्ता भएपछि शिक्षक र अभिभावन राति नै मुग्लिन पुगेका थिए ।
शौच गर्ने क्रममा बिपना त्रिशूलीमा खसेको आशङ्का गरिएको छ । उहाँ हराएको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुले खोजी कार्यलाई निरन्तरता दिइरहेको अर्यालले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उहाँ हराएको स्थानमा हिजोदेखि नै खोज्ने काम गरिएको छ । डुङ्गाको प्रयोग गरेर त्रिशूली नदीमा खोजी कार्यलाई निरन्तरता दिइएको भण्डारीले बताउनुभयो ।