Aamsanchar

अर्जुनधारामा रेविजको त्रास

Author Image
शनिवार, वैशाख ३०, २०७४

अर्जुनधारा।

बितेको ३ सातामा झापाको अर्जुनधारामा छाडा तथा रेविज संक्रमित छाडा कुकुरले टोकेर ५२ पशुचौपाया घाइते भएका छन् ।  त्यसमध्ये रेविजका कारण ४ वटा चौपायाको मृत्यु भएको छ । घटना झापाको अर्जुनधारा–३ र ४ नम्बर वडा अन्तर्गत जुकेखाडी, भाङबारी र मदनपुर क्षेत्रको हो । छाडा कुकुरले जथाभावी पशु चौपायाहरु टोक्न थालेपछि रेबिज रोगका डरले स्थानीयहरु यतिबेला त्रसित छन् ।
दिउँसो चरनमा र राति गोठमै बौलाह कुकुरले जथाभावी पशु चौपायाहरु टोक्ने र टोक्ने कुकुरलाई नियन्त्रणमा लिन नसकेका कारण आफूहरु त्रसित भएको स्थानीयहरु बताउँछन् । गत वैशाख ५ गते मदनपुरस्थित इन्द्रबहादुर मगर र दुंगबहादुर बुढाथोकीको राँगा तथा मन्दिरा निरौलाको गाईलाई चरनमा टोकेको बौलाह कुकुरले हालसम्म ५० वटा भन्दा बढी पशु चौपाया टोकेको पशु सेवा केन्द्र शनिश्चरेका प्रमुख पशु विकास अधिकृत पदमलाल राईले जानकारी दिए । उनका अनुसार बौलाहा कुकुरले वडा नम्बर ३तर्फ चित्र शिवाकोटीको एउटा बाछा, बमबहादुर कार्कीको एउटा, कुमार कार्कीको एउटा गाई, याम सुवेदीको एउटा गाई, पुष्षा साहको एउटा गाई र गोरु, कृष्ण गिरीको एउटा र हर्क तामाङको तीन वटा बाख्रालाई टोकेको छ ।
त्यसैगरी वडा नम्बर ४मा राजेन्द्र ल्वागुनको एउटा गाई, हर्कध्वज लिम्बूको तीन वटा बाख्रा, नवराज खड्काको दुई वटा गाई, कर्णबहादुर सम्वाहाम्फेको एउटा गाई, दुई वटा गोरु र एउटा बाछा, नरेन्द्र सम्वाहाम्फेको एउटा बाछा, गोरे चेम्जोङको एउटा गाई र दुई वटा बाछा, इन्द्र मगरको एउटा गाई, दुई वटा गोरु र एउटा बाछा, टंक बुढाथोकीको दुई वटा गोरु र एउटा बाख्रालाई कुकुरले टोकेको छ ।
त्यस्तै राजकुमार मगरको दुई वटा गाई र दुई वटा बाछा, भीष्म पोखरेलको एउटा गोरु, दुर्गा रसाइलीको एउटा गाई र बाछा, कान्छा भुजेलको एउटा बंगुर, सन्तोष मगरको एउटा गाई र बाछा, नवीन ओली र हरि भट्टराईको एउटा कुकुरलाई पनि कुकुरले टोकेको छ ।
बौलाह कुकुरले टोकेका मध्ये कर्णबहादुर सम्वाहाम्फेको ३५ हजार रुपैयाँ बराबरको एउटा गोरु, दुंगबहादुर बुढाथोकीको ४० हजार रुपैयाँ बराबरको एउटा राँगा, तिलकबहादुर अधिकारीको ३० हजार रुपैयाँ बराबरको एउटा गोरु र राजकुमार मगरको सात हजार रुपैयाँ बराबरको बाछीको मृत्यु भएको बताइएको छ ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार बौलाह कुकुरले टोकेपछि पशु चौपायालाई दिइने एन्टी रेबीज पोसबाइटको पाँच डोज अन्तर्गत शुन्य दिनको पहिलो डोज दिइसकेको र बाँकी ३, ७, १४ र २८ दिनको डोज पनि समय तालिका अनुसार दिइने बताइएको छ । यता पशु चौपाया टोक्ने कुकुरको खोजी भइरहेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।
आर्थिक वर्ष ०७०÷०७१मा तत्कालीन नगर प्रमुख रुद्रप्रसाद न्यौपानेले कुकुर नियन्त्रण गर्न नगरपालिका, पशु सेवा केन्द्र शनिश्चरे र पोखरास्थित हार्ट नेपालको साझेदारीमा बन्ध्याकरण कार्यक्रमको आयोजना गरे पनि पछि त्यस किसिमको कार्यले निरन्तरता पाउन सकेको छैन ।  पशु सेवा केन्द्रका प्रमुख पदमलाल राईले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गरी रेवीजबिरुद्धको भ्याक्सिन दिएको खण्डमा यस प्रकारको समस्या देखा नपर्ने विषयमा आफूले पटक–पटक नगरपालिकालाई जानकारी गराए पनि नगरपालिकाबाट कुनै सहयोग नपाएको गुनासो गरे ।
यता अर्जुनधारा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडाले चालू आर्थिक वर्षमा कुकुर नियन्त्रण गर्न बजेट नभएको बताए । आफूलाई यस घटनाबाट गम्भीर ध्यानाकर्षण भएकोले आगामी दिनमा कुकुर नियन्त्रण गर्नका लागि बजेट विनियोजन गर्न आवश्यक छलफल गरिने बताए ।
जिल्ला पशु सेवा कार्यालय झापाका सूचना अधिकृत कुमारसिंह खत्री चालू आर्थिक वर्षमा कुकुर नियन्त्रण गर्नका लागि बजेट नभएको बताउँछन् । उनले चालू आर्थिक वर्षमा बिर्तामोड र भद्रपुर नगरपालिकासँग सम्झौता भइसकेको बताए । पर्याप्त बजेटको अभावमा जिल्ला पशु सेवा कार्यालयले मात्र नभई स्थानीय तहले पनि यसको लागि पहल गर्नुपर्ने अधिकृत खत्री बताउँछन् ।

Views: 177

प्रतिक्रिया (०)