इलाम- सशस्त्र द्वन्द्वपछि मानसिक समस्या भोगिरेहका २१ वर्षीय छोराको उपचारका लागि १८ वर्षअघि भारतको राँची लैजान भन्दै घरबाट हिँडेका देउमाई नगरपालिकाको धुसेनीका पदम चापागाईं अहिलेसम्म घर फर्कनुभएको छैन । छोरा र श्रीमान् आज आउलान्, भोलि आउलान् भन्दै बाटो हेरेर पदमकी श्रीमती तोरणकुमारीको १८ वर्ष बितिसकेको छ । न खोजी गर्दा चापागाईं बाबुछोराको केही पत्तो लाग्यो न त उहाँहरूले हामी यस्तो अवस्थामा छौँ भनेर खबर नै गर्नुभयो । अब त तोरणकुमारीका आँखाका आँसु पनि सुकिसकेका छन् तर पनि कुनै दिन पदम घर फर्कलान् कि भन्ने झिनो आशा भने परिवारले मारिसकेका छैनन् ।
विसं २०६३ साउन १२ गते आफ्ना माहिला छोरा प्रमोदलाई लिएर घरबाट भारततर्फ गएका पदमले करिब सात दिनपछि घरमा फोन सम्पर्क भने गर्नुभएको थियो । श्रीमती तोरणकुमारीले भन्नुभयो, “त्यसबेला सिडिएमए फोन थियो । फोनको घण्टी बज्यो, ठुली बुहारीले फोनमा बोलिन् । एक÷दुई कुरा बोलेपछि फोन काटियो । बोल्दाबोल्दै फोन कसैले खोसेजस्तो लागेको थियो । त्यसपछि भने कहिल्यै फोन आएन ।” भारत गएका बुवा र भाइको थप खबर नआएपछि वैदेशिक रोजगारीमा गएका चापागाईंका जेठा छोरा सुरेन्द्र पनि कतारबाट घर फर्कनुभयो ।
स्थानीय कालिकादेवी प्राथमिक विद्यालयका शिक्षकसमेत रहेका ५३ वर्षीय बुवा पदम र भाइ प्रमोदको खोजीका लागि सुुरेन्द्र भारततर्फ केही सहयोगीका साथ जानुुभयो । बुवाले फोनमा भनेको स्थानमा पुग्दा पनि केही पत्तो भएन । सुरेन्द्र अन्ततः राँचीकै अस्पताल पुुग्नुभयो त्यहाँ पनि बाबुछोरा त्यो मितिमा पुगेको देखिएन । सुरेन्द्रले भन्नुभयो, “भारतको कोलकातास्थित पश्चिम बर्दमानको अलैँची संस्था भन्ने स्थान जहाँबाट फोन आएको थियो, त्यहाँ पुगेर पुलिस थानामा पनि हुलियासहित सोधखोज गरियो । त्यहाँको पुलिसले ढिलो खबर भयो भन्ने जवाफ दियो ।”
सुरेन्द्रका अनुसार त्यतिबेला छोराको उपचार गर्न पदमले आफ्नो साथमा ६० हजार रुपियाँ पनि बोक्नुभएको थियो । त्यही पैसाका कारण पनि बुुवालाई अप्ठ्यारो पर्यो कि भन्ने आशङ्का सुरेन्द्रको छ । एसएलसी उत्तीर्ण गरेपछि विगतको सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षसँग जाने गरेका प्रमोदले पछिल्लो समय मानसिक समस्या बेहोरेको परिवार सम्झन्छन् । अहिले पदमकी श्रीमती तोरणकुमारी जेठा छोरा सुरेन्द्र र कान्छा छोरा विमलका साथमा हुनुहुन्छ । तोरणकुमारीले भन्नुभयो, “भारतमा पनि नेपाली छन् । कहीँकतै देखे खबर गरिदिए पनि हुन्थ्यो ।”