उदयपुर – कलम, मादल र बन्दुकको समिश्रणबाट मात्र क्रान्ति सफल हुन्छ भन्ने मान्यताका बोकेर तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्ध रोजेका लिम्चुङबुङ गाउँपालिका–२ का ५१ वर्षीय कृष्ण निरौला (खत्री) यतिबेला राजनीति त्यागी कृषि क्रान्तिमा होमिएका छन्।
१० वर्षे जनयुद्धमा मादलको नेतृत्व गर्दै २०५३ साल फागुन २३ गते माओवादी प्रवेश गरेका निरौला हिजोआज आफ्नै १३ रोपनी जग्गामा सुन्तला, कागती खेती लगाएर रमाउने गरेका छन्।
उनी भन्छन्, ‘जतिबेला माओवादीले संसदीय व्यवस्था रोज्यो, त्यहीँ दिनदेखि अब क्रान्ति सम्भव छैन र उपलब्धिको रक्षा हुन्न भन्ने ठाने र म रुँदै घर फर्किएर कृषि कर्ममा जोडिए।’ उनको बारीमा यतिबेला सुन्तला ५ सय र कागती १ सय ५० बोट छन्। दुवै बालीबाट उनले मनग्ये आम्दानी लिइरहेका छन्।
विगत चार वर्षदेखि वार्षिक ६ लाख जति आम्दानी लिँदै आएका खत्रीले यो वर्षको सुन्तला सिजनमा १० लाख बढी आम्दानी लिने अनुमान गरेका छन्। त्यसो त उनलाई कागती खेतीले पनि साथ दिएको छ। बजारीकरणमा केही समस्या भए पनि सुन्तला बोटबाटै ९० देखि १ सय रुपैयाँ केजीसम्म बिक्री हुने गरेको उनले सुनाए।
त्यहीँ सुन्तला सदरमुकाम गाईघाट, मुर्कुची, कटारीलगायतका व्यापारिक केन्द्रबाट प्रतिकेजी १ सय ५० ले बिक्री भइरहेको छ। उनको त्यो मेहनत र आम्दानी देखेर ताम्लिछाका अन्य ८० घरपरिवार सुन्तला कागतीको कृषि आम्दानीमा जोडिएका छन्। ताम्लिछाबाट यस वर्षमात्रै १० गाडीभन्दा बढी सुन्तला सदरमुकामलगायतका व्यापारिक केन्द्रमा पुग्ने उनको अनुमान छ।
यति सुन्तला बिक्री गर्दा गाउँमा ५० लाखभन्दा बढी आम्दानी भित्रिने अनुमान गरिएको उनले सुनाए। फागुन अन्तिममा फुल्ने सुन्तला ८÷९ महिनामा तयार हुन्छ। उनको यो कर्ममा गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धेरै ठूलो सहयोग र अनुदान नभए पनि सानोतिनो सहकार्य भएको छ।
परियोजनाबाट सिँचाइ पानी स्टोर गर्ने ८० लिटरको इन्टेक सहयोग भएको उनले बताए। सुन्तला खेतीबाटै तीन छोरी र एक छोरा गरी ६ जनाको परिवारको पालनपोषण र शिक्षा, स्वास्थ्यमा खर्च पुग्ने गरेको खत्रीले सुनाए। उनले भने, ‘छोरीलाई काठमाडौं बिहे गरेर दिएँ, ज्वाइँ कोरिया हुनुहुन्छ, माइली छोरी मास्टर डिग्री, कान्छी आईएस्सी र छोरा विज्ञान विषयमा कक्षा १२ सकेर आईटी पढ्ने तयारीमा छ, यी सबैको खर्च सुन्तला खेतीबाटै पुगेको छ।’
‘२०६७ सालसम्म माओवादी पार्टीको भोलेन्टर ९स्वयंसेवक० कार्यकर्ता भएँ तर जे सोचेर क्रान्तिमा होमिए त्यो पूरा नभएपछि सक्रिय राजनीति गर्न उचित ठानिनँ अन्ततः घर फर्किएँ। देश बन्छ भने मेरो पनि घर बन्छ भनेर लागेँ तर, घर फर्कंदा मेरो राम्रो घर थोत्रो भएछ, आमाबुवा बुढा भएछन्, श्रीमती रोगी भैछिन्, बालबच्चा बेवारिसे जस्तो भएछन् त्यसैले घर फर्किएको धेरै महिना मेरा रोएरै दिन र रात बिते’, कारुणिक शब्दमा उनले विगतका अनुभव सुनाए।
थोत्रो भएको घर देखाउँदै खत्रीले भने, ‘आज यिनै बेथितिहरू देख्नु थियो भने त्यत्रो जनयुद्ध केका लागि थियो रु आज सामान्य गरिबी जनताको छोराछोरी चुनाव लड्न सक्ने अवश्था छैन्, अनि कस्तो परिवर्तन ल्याइएछ।’ अहिले भएको शासकीय स्वरूप, निर्वाचन प्रणाली बेठीक छ। पूर्ण समानुपातिक नभएसम्म जनयुद्धले सार्थकता नपाउने उनको भनाइ छ।
‘विगतमा आफू मनमोहन अधिकारीको ९ महिने कार्यकालबाट प्रभावित भएपछि एमाले भएँ, घर परिवार कांग्रेस थियो त्यसपछि संसदीय व्यवस्था मन नपरेर जनयुद्धमा हिँडेँ’, उनले सुनाए। जनयुद्धका क्रममा जनसांस्कृतिक मञ्चको जिल्ला अध्यक्ष हुँदै तत्कालीन सहिद जामुन चौधरी र मोहन कटुवालको नाममा रहेको ९जामो० जनसांस्कृतिक परिवारको कम्पनी कमिसारको नेतृत्व सम्हालेको उनले बताए।
गाउँमा सामन्ती, कुसंस्कारको बिगबिगी देखेपछि तत्कालीन ताम्लिछा जनसरकार प्रमुख भएर २०५५ देखि २०५७ सम्म जनतालाई न्याय दिने काममा सक्रिय भएको उनले बताए। कृषि क्रान्ति गर्नुपर्छ भनेर अखिल नेपाल क्रान्तिकारी किसान संगठनको जिल्ला सचिव हुँदै दुई कार्यकाल अध्यक्ष भए। ‘पछि नचाहँदा पनि साथीहरूले कोशी प्रदेश समितिको सदस्यमा जिम्मेवारी दिनु भएछ तर म सक्रिय छैन र हुन्न पनि’, खत्रीले भने, ‘अब म स्वतन्त्र नागरिक भएर बस्न चाहन्छु।’
‘एमसीसी जस्तो घातक योजनालाई माओवादीले समर्थन गरेपछि अन्ततः मुलुकका प्रमुख तीनै पार्टी उस्तै भएको मेरो निष्र्कष हो, त्यसैले पनि अब त झन माओवादी रुचाउने कुरै भएन’, खत्रीले भने।
त्यसैले यी सबै अवस्थालाई हेरी पुर्खाको सम्पत्ति १५÷२० रोपनी जग्गा छ, त्यसैमा कृषि कर्म गरेर रमाउने उनले बताए। बुवा अम्बरबहादुर र आमा अम्बिकादेवी खत्रीको काखबाट जन्मिएका उनीसँग जनयुद्धको बखत रामेछापको लप्चने, भोजपुरको हतुवागढी, सिरहाको बन्दीपुर, चोहर्वा, उदयपुरको गाईघाट करमगाछी भिडन्तको प्रत्यक्ष भोगाइ छ। राजनीतिबाट वितृष्णा जागेका खत्री दिलु कृषि तथा पशुपालन फर्म दर्ता गरी कृषि क्रान्तिमा होमिएका हुन्।