उर्लाबारी-मोरङको निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँसखोलाको पुल निर्माण गर्न तेस्रो पटक समय थपिएको छ तर थपिएको समयमा पनि पुल निर्माण सम्पन्न हुनेमा आशङ्का गरिएको छ ।
कानेपोखरी गाउँपालिका–६ सँग पथरी शनिश्चरेको वडा नंं.९ लाई जोड्ने यो पुल २०७६ जेठ २ गते शिलान्यास भएको थियो ।
२०७८ मङ्सिर १६ गते समुदायलाई हस्तान्तरण गर्ने गरी धनुषाको रमन आइएसएनबी जेभीले निर्माण गर्न थालेको पुल तेस्रो पटक थपिएको समय अनुसार २०८२ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने छ तर सडक डिभिजन कार्यालय विराटनगरका सूचना अधिकृत शीतल पराजुलीका अनुसार हालसम्म ६१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
४० मिटरको पुलको एउटा स्पान ढलान भइसकेको छ भने अर्को स्पान निर्माण गर्ने सुरसार नै छैन । अधिकृत पराजुलीले भन्नुभयो, “२०८२ असार मसान्तसम्ममा पुल बनिसक्छ । पछिल्लो समय लगातार काम भइरहेको छ । प्राविधिक विषय सर्वसाधारणलाई जानकारी नहुने भएकाले चिन्ता हुनु स्वाभाविकै हो ।”
करिब १४ करोड ४९ लाख ५१ हजार रुपियाँको लागत स्टिमेटको पुल निर्माण कम्पनीले भ्याटसहित ११ करोड ७९ लाख दुई हजार ६०६ रुपियाँ ५५ पैसामा ठेक्का लिएको हो । पहिलो पटक थप गरिएको समयमा काम सम्पन्न नगरेपछि डिभिजन कार्यालयलाई स्थानीय र सांसदले समेत ठेक्का रद्द गर्न दबाव दिएका थिए ।
सडक विभागले दोस्रो पटक २०८० असार मसान्तसम्ममा काम सक्ने गरी समय थप गरेको थियो तर उक्त अवधिमा निर्माण कम्पनीले एक दिन पनि काम गरेन । सूचना अधिकृत पराजुलीले भन्नुभयो, “५९.२९ प्रतिशत वित्तीय प्रगति भएको छ । प्राविधिक केही कामबाहेक सबै काम तीव्र रूपमा भइरहेको छ ।
मोरङ–३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्माले पुल समयमा निर्माण गर्न पटक पटक दबाब दिएको बताउनुभयो । निर्वाचन क्षेत्रका दुई पालिका जोड्ने यो पुल नहुँदा गाडीबाट खोला तर्न पूर्वपश्चिम राजमार्ग नै पुग्नुपर्ने बाध्यता रहेको छ । उहाँले निर्वाचन क्षेत्रलाई जोड्ने पुललाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।