Aamsanchar

नेपाल हृदय रोग निवारण केन्द्रद्वारा जनचेतनामूलक कार्यक्रमसहित झापामा केन्द्रीय सभा गर्ने

Author Image
बिहिवार, पौष ११, २०८१

बिर्तामोड। नेपाल हृदय रोग निवारण केन्द्र (हार्ट फाउण्डेशन) को ३३औँ केन्द्रीय सभा पुस १३ र १४ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुने भएको छ। केन्द्रले आज आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो।

कार्यक्रमको उद्घाटन पुस १३ गते शनिबार दिउँसो ३ः३० बजे केन्द्रका अध्यक्ष डा. सत्यनारायण सुवालले गर्ने भएका छन्। यो सभाले मुटुरोग सम्बन्धी जनचेतना फैलाउन, रोगको रोकथाम तथा उपचारमा सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जनचेतनाको लागि मोफसलमा सभा
काठमाडौँ केन्द्रित गतिविधिलाई मोफसलसम्म विस्तार गर्दै जनचेतना फैलाउने उद्देश्यले सभा झापामा आयोजना गरिएको हो। अघिल्लो वर्ष काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न सभा यस वर्ष झापामा हुँदैछ।

केन्द्रका गतिविधि र योगदान
२०४५ सालमा डा. मेगेन्द्रराज पाण्डेको नेतृत्वमा स्थापना भएको यो केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी जिल्लामा तदर्थ समिति मार्फत सेवा प्रदान गर्दै आएको छ। पूर्वअध्यक्ष डिल्लीराम घिमिरेका अनुसार केन्द्रले मुटुरोगीहरुको उपचारमा आर्थिक सहयोग प्रदान गर्नुका साथै शहिद गंगालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थासँग समन्वय गर्दै आएको छ। साथै, उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिइँदै आएको छ।

कार्यक्रमका विशेषता
सभाको अवधिमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिने छ।

स्वयम् सेविका तालिमः प्राविधिक सीप अभिवृद्धि।
प्रभातफेरीः बिएण्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने।
धुम्रपान नियन्त्रणमा जोडः झापाको कनकाई नगरपालिकाको सूर्तीजन्य पदार्थ प्रतिबन्धलाई सम्मानस्वरूप उदाहरणीय कदमको रुपमा प्रस्तुत गरिने।

जनस्वास्थ्यका लागि समर्पण
नेपाल हृदय रोग निवारण केन्द्रले आफ्नो प्रयासबाट मुटुरोगको रोकथाम, जनचेतना वृद्धि, र रोगीहरुप्रति आर्थिक र भावनात्मक सहयोग पु¥याउँदै आएको छ। झापा शाखाका अध्यक्ष सन्तोष अग्रवालले सभा र यसका कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना साझा गरेका छन्।

कार्यक्रममा झापाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने पत्रकार सम्मेलनमा हार्ट टेक्निसियन अंशुकाराज उपाध्याय, निवर्तमान अध्यक्ष बलराम न्यौपानेको पनि उपस्थिति रहेको थियो।

यस प्रकारका कार्यक्रमले मुटुरोग जस्तो जटिल समस्याबारे जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Views: 116

प्रतिक्रिया (०)