Aamsanchar

केराको कथा : परिवारका सदस्यहरू त्यो “ लालकेरा “ को खुब तारिफ गर्थे

Author Image
शुक्रवार, पौष २६, २०८१

हाम्र‍‍ो बगैँचामा केराका धेरै बोटहरू थिए । एउटा लाल केराको झाङ निकै ठूलो थियो । झाङमा पनि एउटा बोट बोट निकै अग्ल‍ो र मोटो थियो । म बगानका केराहरूलाई नियालिरहन्थेँ । गोडमेल गर्थेँ । परिवारका सदस्यहरू त्यो “ लालकेरा “ को खुब तारिफ गर्थे । मैले ब‍ोट मात्र ह‍ो यसलाई गबराले खाइसकेको छ , भित्रभित्रै किराले सङ्क्रमण गरिसकेको छ फल फल्दैन , घरी लागेपनि कि बोट ढल्छ कि कोसा टाक्सिन्छ भनेँ कसैले पत्याएनन्

मैले त्यो गत्तिलो केराको झाङ गोडमेल नगरेकोमा सबै रिसाए । पछि निकै ठुलो घरी पसायो । कोसा पनि धेरै लागे । अब जवाना लालकेराकै हो नि भन्दै सबैजना मुखामुख गर्न थाले । ठूलो घरी पसाएकोमा मलाई उल्लीबिल्ली पार्ने काम भयो । साथीभाइहरू पनि परिवारका सदस्यकै लहैलहैमा लागे । लालकेराले खुब भाउ पायो । मैले यो ठूलो झाङ र अग्लो बोटको लालकेरा पनि उस्तै उस्तै हो भन्ने ठानेको थिएँ । केरा त्यति काम लाग्दैन , फल फले पनि छिप्पिएर पाक्दैन भन्नेमा म विश्वस्त थिएँ । काइँया पनि धेरै लागे । तर केरा बिस्तारै नुहिन थाल्यो । विश्वास नभई नभई मैले एउटा पुरानो बाँसको टेको लगाएँ । आमाले कराउनुभयो। बुबा रिसाउनुभयो । नयाँ बाँसको दरो टेको लगाउनुपर्ने उहाँहरूको अडान थियो । मैले बोटलाई भित्रभित्रै रोग लागिसकेको छ अर्को टेको लगाउँदिन भनेँ । परिवार , छरछिमेकी र साथीसँगी बाँस काट्न गए ।दुईटा बाँस जोडेर गत्तिलो टेको लगाए । सबैजना खुसी भए ।

सबैजना त्यो लालकेराराको घरी हेर्दै मक्ख परे । टेको लड्छ कि , केरा भाँचिन्छ कि भन्दै जाँच गर्ने काम निरन्तर भयो। पश्चिमतिरबाट आउने हावालाई एउटा र पूर्वतिरबाट आउने हावालाई अर्को टेकोले थामेको हुँदा गबारो भित्रभित्रै चुसेपनि केरा ढलेको थिएन । भाइहरूले एउटा डोरीले बोटको बिचमा बाँधे । तनक्क तन्काए र सुपारीका बोटमा बाँधे । अब त ठुलै आँधीले पनि बोट नहल्लाउनेमा निश्चिन्त भए । आमाबुबा साथी भाइ ,इष्टमित्र सबैजना केरा खानका लागि मुख मिठ्याउँदै बसे । यो साल उत्तर र दक्षिणतिरबाट खास ठूलो हावा नआएकाले केरा चाहिँ ढलेन । एक दुईचोटि स्थानीय चक्रवात /भुमरी आएपनि बोट लडेन । दक्षिणी चक्रवातलाई ठुलै रुखले छेकेर पनि बोट सुरक्षित थियो । तर अरू ससाना बोटका केराका कोसा पुटुक्क मोटाउँदा पनि त्यसका कोसा चाउरिरहेको बुबाका अनुभवी आँखाले देखेछन्।
बुबाले ओठ बङ्ग्याउँदै केराको फल काम लाग्दैन कि भन्ने संक्षिप्त्त शङ्का गर्नुभयो । कसैले नपत्याएको हुँदा बुबा चुप्प लाग्नुभयो ।

केही दिन पहिले म बगानमा काम गर्दै थिएँ । एक्कासि ठूलो आवाज आयो । के होला भन्दै कोदालो बिसाएर हेर्न गएको त्यही केराको घरी नली सहित जमिनमा बजारिएछ। परिवारका सबै जना खिन्न हुँदै वरिपरि उभिनुभएका थिए। राम्रै फल खान पाइन्छ भन्ने आशावादीहरु खिन्न भए । म बाहेक सबै जना निराश । मलाई चाहिँ यसले फल दिँदैन भन्ने लागेकाले खास दुख लागेन तर सबैजनाको दुखमा खुसी मान्नु उचित नहुने लागेर चुप्प लागेँ ।
सबै जनाले जे भएपनि ठुलै घरीको केरा हो लगेर पकाऊँ भन्ने निर्णय गरे । यो केराप्रतिको कस्तो मोह ! आशा पनि उधुम हौ ! । आज घर पुगेर कुरो बुझ्दा केरा कचल्टिएछ । अझैपनि दूध र चिनी लगाएर त्यो कटमिरो केरालाई गुलियो मानेर खाने विचार होला भन्दै म सुपारी गोड्न गएँ। यो रोगी केरा हो ,गबारो लागको नयाँ र अनौठा किराले भित्रभित्रै सखाप पारेको बोटका केरातिर किन अझैपनि यति विघ्न आकर्षण होला ? मलाई ताजुब लाग्छ ,अचम्म लाग्छ ।

बाटामा पर्ने त्यही केराको बोटको बाहिरी दाम्चो उक्काएक‍ो त स्याउँस्याउँती गबारे किरा लागेका रहेछन् । अर्को पत्र उक्काउँदा त आङै जिरिङ्ग पार्ने पहिले नदेखिएका विदेशी किरा खुसी भएर उधुम ! धेरै पहिले विदेशबाट ल्याएपनि रैथाने भइसकेको केराका बोटको स्वाद लिँदै मक्ख परेका विदेशी किराहरू ! ।केराको बोट पनि कुहिरे ,चेप्टे र नेप्टे किरालाई सर्वस्व समर्पण गर्न पाउँदा मक्ख । हाम्रा हजुरबाकै हातले हुर्काएका केराको बोटमा उपचार गर्नै नसकिने देशी विदेशी किरा लागेकोमा दुख लागेपनि म चाहिँ चिन्तित भइन । किनकि मैले यो केराले राम्रो फल दिँदैन भन्ने प्राक्कल्पना उहिले नै गरिसकेको थिएँ ।

यो “ लालकेरा “अरूजस्तो होइन,यसमा किरा लाग्दैन , विदेशी किराको प्रभाव त पर्दै पर्दैन भन्ने एकोहोरा मानिसहरू कालोनिलो भए । कतिपय मानिसहरू
किरालाई किरा भन्न पनि तयार भएनन् तर अनौठा किराले झाङका सबै बोटबिरुवालाई भित्रभित्रै खग्रास पारेको बुझेर बुझपचाउनेहरूको अनुहार पनि कालो र निन्याउरो भयो ।।राम्ररी उपचार नगर्ने हो भने सबै बारीका पूरा झाङ र अन्य ,फलफूलमा पनि सङ्क्रमणको डढेलो लाग्ने निश्चित भयो । केराको सङ्क्रमण कुनै हालतमा ठिक हुँदैन जस्तो लाग्दै छ । अब सबै फाँडेर नयाँ लगाउन पनि कठिन होला । कृषि प्राविधिकसँग सल्लाह गरेर उपचार गरुँ कि अर्कै प्रजातिको केरा रोपुँ या केराघारी फाँडेर वैकल्पिक फलफूल रोप्ने हो अन्य मनस्क भई दोधारको चौतारीमा बसेर गम्दै छु ।

लेखक रिजाल  बुद्धशान्ति – २ झापा निवासी हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर