



पारीश्रमिकको विषयलाई लिएर आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । निजी मेडिकलक कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् । विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले संयुक्त रुपमा निर्णय गरेको भन्दै सोमबार निर्णय सार्वजनिक गरिएको थियो । जसमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकको पारीश्रमिक तीन वर्षे अध्ययन अवधिमा फरक–फरक हुने उल्लेख छ । उक्त निर्णयअनुसार पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो ।


यस प्रस्तावले आवासीय चिकित्सकलाई चोट पुर् याउने काम गरेको उनीहरुको गुनासो छ । सोमबार नै आवासीय चिकित्सकहरूले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका थिए । मंगलबार उनीहरूले चिकित्सा शिक्षा आयोग घेराउ गरेका थिए । पूर्वसहमति र चिकित्सा शिक्षा आयोगले यसअघि नै गरेको निर्देशनअनुसार सरकारी मेडिकल कलेजका आवासीय चिकित्सकसरह पारीश्रमिक दिनुपर्ने माग उनीहरूको छ ।


निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा।शेषराज घिमिरेले बताए ।