


दाङ – तुलसीपुर उपमहानगरपालिका ११ बेलनगरका राजकुमार चौधरीको मुख्य पेशा भनेको घोडा लाद्ने नै हो। उनले करिब १० वर्षदेखि यो पेशामा निरन्तर रुपमा लागेका छन्। उनले अहिले एउटा घोडा पालेका छन्, त्यही घोडाबाट गाउँ गाउँमा गएर धान खरिद गर्ने र त्यसलाई कुटाएर चामल बिक्री गर्न करिब १० किलोमिटर तुलसीपुर बजार आउने गर्दछन्।


यो पेशाबाट घरखर्च चलाउन राम्रो भएयता पनि घोडाहरूको लागि प्रसस्त चरिचरण ठाउँ नहुँदा समस्या भइरहेको बताए।


उनले भने, ‘पहिलाको जस्तो घोडाहरू चराउनको लागि सिमसार क्षेत्र छैन। गाउँमा जता राखेपनि बजारमा जाँदा घोडा राख्न प्रशस्त ठाउँ पाइँदैन। सडकपेटीमा राख्दा पसलवाला वा घर मालिकले राख्न दिँदैनन्। हामीलाई बजारमा निकै समस्या हुने गर्दछ।’

यस्तै उनले घोडा बिरामी भएको बेलामा पनि सहज रुपमा उपचार गर्न नसक्ने गरेको गुनासो गरे। उनका अनुसार तुलसीपुर उपमहानगरको पशु शाखामा घोडा बिरामी हुँदा जाँदा पनि त्यहाँ औषधिहरू पाइँदैन। घोडालाई सबैभन्दा बढि समस्या टिटानस रोग र जुकाको हुने गरेको भएयता पनि केही वर्ष पहिले एउटा संस्थाले त्यो उपलब्ध गराउँदैँ आएकोमा त्यो संस्थाले कार्यक्रम रोकेपछि अहिले आफूहरूलाई समस्या भएको उनले बताए।


यस्तै, उनले छिमेकी गाउँमा टिटानस रोगका कारण केही समय अगाडि २ वटा घोडा मरेको हुँदै घोडा पालन किसानहरूलाई राज्यले फरक ढङ्गले हेर्ने गरेको बताए। उनले भने, ‘राज्यले मात्र नभइ हामीलाई हामी नागरिकहरूले पनि हेला गर्ने गर्दछन्। बजारमा चामल लगेर जाँदा ‘ए घोडे’ भनेर बोलाउँछन्। त्यो सुन्दा निकै दुस्ख लाग्छ। हामीलाई दाइ, भाइ भनेर बोलाउँदा पनि हुन्छ। तर, सिधै ‘ए घोडे’ भन्छन्।’ यस्तै आफूले सानो घोडाको बच्चा ४५ हजारमा किनेको भन्दै अहिले राम्रो घोडालाई ७० हजारदेखि एक लाखसम्म पर्ने समेत बताए।
दाङमा करिब साढे २ सय घोडाहरू किसानहरूले पाल्दै आएका छन्, भने इँट्टाभट्टाको सिजनमा नेपालगंज, भारतबाट गरी ७र८ सय घोडा तथा खच्चरहरू दाङमा हुने गर्दछन्। जिल्लामा सबै भन्दा बढि तुलसीपुर १० र ११ नम्बर वडामा घोडाहरू धेरै रहेका छन्।
यस्तै तुलसीपुर ११ प्रिगाउँका टेक बहादुर वलीले अझै ३२ वर्षदेखि घोडा लाद्ने पेशा गर्दै आएका छन्। उनले पनि एउटा घोडा पालेको भन्दै राज कुमारको जस्तै गुनासो गर्दछन्। आफ्नो बुवाले पनि घोडा लाद्ने गरेको भन्दै उनले बुवाले छाडेपछि आफू यो पेशामा निरन्तर रुपमा लाग्दै आएको समेत बताए।
उनले पछिल्लो समय सवारीसाधन बढिरहेको अवस्थामा आफूहरू जस्ता घोडा लाद्नेहरूलाई कुनै असर नगर्नेसमेत बताए। यस्तै उनले पनि आफूहरू गाउँबाट चामल लिएर बजार जाँदा मान्छेहरूले आफूहरूलाई राम्रो व्यवहार नगर्ने गरेको बताए। उनले भने, ‘बजारमा हामीलाई घोडे आयो, भनेर बोलाउने गर्दछन्। सडकमा घोडा राख्दा घोडाले दिशा गरेपछि हामीलाई उठाएर फाल्न लगाउँछन्। बजारमा घोडाहरू छुट्टै राख्ने ठाउँ छैन। सडकमै राख्ने हो रु तर, हामीलाई सडकमा पनि राख्न दिँदैनन्।’
यस्तै, तुलसीपुर बजारमा आफूहरू चामल लिएर जाने गरेको भन्दै स्थानीय सरकारले घोडाहरू राख्नको लागि छुट्टै ठाउँको व्यवस्था गरिदिनु पर्नेसमेत बताए। पहिलो कार्यकालका मेयरले घोडाहरू राख्नको लागि बजारमा छुट्टै ठाउँ बनाउने भनेको भएयता पनि अहिलेसम्म कुनै पनि काम नभएको उनले गुनासो गरे।
यस्तै, उनले घोडाहरू बिमा नहुँदा पनि आफूहरूले समस्या पाउने गरेको बताए। बिमा कम्पनीले गाई, भैँसीको बिमा बनाउने गरेको भएयता पनि घोडाहरू नबनाउँदा समस्या भइरहेको बताए। उनले भने, ‘हामीले बिमाको पैसा दिन तयार छौँ। राज्यले पनि घोडालाई अन्य जनावरको रुपमा नभइ अझै ढुवानीको रुपमा हेर्ने गर्दा हामीले बिमा बनाउँन पाउँदैनौँ।’
यस्तै, तुलसीपुर ११ मोतिपुरका जागुराम चौधरीले पनि घोडा पाल्न शुरु गरेको करिब २० वर्ष हुन लाग्यो। उनले पनि अहिलेसम्म घोडा लाद्ने पेशाबाट घरपरिवार चलाउँदै आएको बताए। उनले पनि चामल बिक्री गर्ने तुलसीपुर बजार जाने गरेको भन्दै बजारमा घोडाहरू बान्न ठाउँ नहुँदा निकै समस्या भोग्ने गरेको बताए।
उनले भने, ‘घोडाबाट चामल झिकेर घरभित्र लैजाँदा बाटोमा घोडाहरू राख्नुपर्छ। त्यही बेला घोडाले दिशा गरेमा हामीले नै उठाएर फाल्नुपर्छ।’
यस्तै, उनले उपमहानगरले बजारमा पानी खुवाउन र घोडा बान्न टहरो बनाइदिए आफूहरू जस्ता घोडा पालक किसानहरूलाई धेरै फाइदा हुनेसमेत बताए। आफूले दैनिक मसिना चामल बेच्दा २ हजारसम्म र मोटो चामल बेच्दा एक हजार बढि आम्दानी गर्ने गरेको समेत बताए। उनले भने,‘ हामीले खेतीपाती गर्ने बेला २ महिना र धान ढल्याउने बेला २ महिना घोडा लादै्नौँ बाँकी ८ महिना हामीले निरन्तर रुपमा बजारमा लगेर चामल बिक्री गर्ने गरेका छौँ।’ यस्तै उनले केही आफू जस्तो घोडा लाद्नेहरूको कारण मान्छेहरूले आफूहरू प्रति विश्वास कम गर्दै गइरहेको समेत बताए।
उनले भने, ‘हामीले मान्छेहरूले राम्रो चामल ल्याउँछन्, भनेर पहिलो खोजी खोजी बोलाउने गर्दथे। तर, केही व्यक्तिहरूले बजारमा चामल किनेर त्यो बजार मै बेच्दा हिजोआज अलि हामीले विश्वास कम गरेका छन्।’
आफूले गाउँमा धान खरिद गरेर नै चामल कुटाएर बजार बिक्री गर्ने लैजाने गरेको समेत बताए। उनले घोडाहरूलाई जुकाको औषधि र टिटानस रोगको खोप प्रत्येक वर्ष राज्यले उपलब्ध गराउनु पर्ने समेत माग गरे। उनका अनुसार तुलसीपुर १० र ११ नम्बर वडामा १२० भन्दा बढि घोडाहरू किसानहरूले पालेका छन्।
एकसय बढी घोडालाई खोप लगाइयो
मङ्गलबार तुलसीपुर उपमहानगरपालिका – १० गौरीगाउँमा तुलसीपुरमा किसानले पाल्दै आएका एक सय बढी घोडालाई टिटानस विरुद्धको खोप, जुकाका औषधि र भिटामिन खुवाइएको छ। तुलसीपुर उपमहानगरपालिकाको पशु स्वास्थ्य शाखाले सहयोग र पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराको प्राविधिक सहयोगमा एक सय बढी घोडालाई खोप लगाइएको हो।
परामर्श सेवा पोखराको सहयोगमा २०७७ सम्म यो कार्यक्रम दाङमा सञ्चालन भएको थियो। पछि यो कार्यक्रम बन्द भएपछि घोडालाई खोप लगाउन पाएका थिएनन्। उपमहानगरका पशु स्वास्थ्य शाखाका प्रमुख डा। मनोज वलीका अनुसार उपमहानगरको आयोजनामा एक दिन घोडाहरूको लागि यो शिविरको आयोजना गरिएको हो। शाखाका अन्य कार्यक्रमहरूले घोडा पालक किसानहरूलाई समेट्न नसक्दा आफूले शिविरको आयोजना गरेको समेत बताए।
यस्तै उनले प्रत्येक वर्ष उपमहानगरमा भएका घोडाहरूलाई टिटानस विरुद्धको खोप, जुकाको औषधि लगायतका स्वास्थ्य स्याहारको कार्यक्रम गर्दै आइरहेको बताए। यस्तै पशु स्वास्थ्य तालिम तथा परामर्श सेवामा कार्यरत रमण मिश्रका घोडा खच्चर कल्याणकारी परियोजना अन्तर्गत २०७२ सालमा दाङमा आएर सर्वे गरेपछि तुलसीपुर ११ मोतिपुरमा टिटानसको कारण ३ वटा घोडाहरू मरेको थाहा पाएपछि यसको निराकरण गर्न घोडाहरूको स्वास्थ्य शिविरको आयोजना गर्दै आएको बताए।
उनले भने,‘ केही वर्षसम्म हामीले यो कार्यक्रम गर्दै आएको थियौँ। तर, विगत २ वर्षदेखि स्थानीय तहले गर्दै आइरहेको छ। यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर हुन जरुरी छ।’
यस्तै उनले विगतको अवस्थामा भन्दा अहिले घोडा पालक किसानहरूमा धेरै सुधार भएको समेत बताए। उनले विगतमा घरेलु औषधि उपचार गर्ने, घोडाहरूलाई धेरै लोड बोकाएर चोटपटक लगाउने र बिरामी हुने अवस्था रहेकोमा अहिले त्यसो नभएको बताए।




































