




काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा राज्यविरुद्धको कसुर अपराधमा पक्राउ परेको जानकारी संसदमा गराइएको छ। सभामुख देवराज घिमिरेले राणा पक्राउ परेकोबारे सदनलाई जानकारी गराएका हुन्।


शुक्रबार तिनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा राणा शुक्रबार पक्राउ परेका थिए। अब उनीमाथि फौजदारी अभियोगमा अनुसन्धान हुनेछ।

नेपालको संविधानको धारा १०३ मा सांसद पक्राउ परेमा त्यसको सूचना सभामुख र संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ। यसअनुसार सभामुखले राणा पक्राउ परेकोबारे सदनलाई जानकारी गराएका हुन्।


राजावादीको आन्दोलनका नाममा हिंसात्मक गतिविधि गरेकोआरोपमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,अधिवक्ता स्वागत नेपाललगायत पक्राउ परेका छन्। आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाई भने फरार छन्।




































