Aamsanchar

कुलपूजा तयारीसहित लामिछाने समाज झापाको पूर्ण बैठक सम्पन्न

Author Image
मङ्गलवार, चैत २६, २०८१

झापा- लामिछाने बन्धु समाज झापाको पूर्ण बैठकले समाजको आगामी गतिविधिहरूको रूपरेखा तय गर्ने कार्यविधि/निर्देशिका २०८१ सर्वसम्मतिले अनुमोदन गरेको छ।

कोटीहोमस्थित जिल्ला समितिको कार्यालयमा बसेको पूर्ण बैठकमा सचिव विमल लामिछानेले प्रस्तुत गरेको कार्यविधि/निर्देशिका बुँदागत छलफलपश्चात् पारित गरिएको हो। अब समाजले उक्त निर्देशिकालाई आधार मानेर आफ्ना सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ।

निर्देशिकामा दशवटा दफाभित्र विभिन्न शीर्षकमा उपदफाहरू समेटिएका छन्, जसमा पदाधिकारीहरूको दायरा, मताधिकार, आर्थिक संरचना, महिला तथा युवा सहभागिता लगायतका महत्वपूर्ण विषयहरू समावेश छन्।

लामिछाने बन्धु समाज नेपालको मूल विधानले संघीय लोकतान्त्रिक संरचनाअनुसार प्रदेश र पालिकाको प्रतिनिधित्व समेट्न नसकेको भन्दै झापा जिल्लाले नयाँ कार्यविधि जारी गरेको हो। हाल झापाभित्र पालिकास्तरीय समिति गठन भई अधिवेशन सम्पन्न भइसकेका छन्, र यो निर्देशिका संगठन संरचना परिमार्जनका लागि मुनाफा साबित हुने अपेक्षा गरिएको छ।

जिल्ला अध्यक्ष टिकाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य एनपी लामिछाने प्रमुख आतिथ्यका रूपमा सहभागी थिए। पूर्व केन्द्रीय उपाध्यक्ष मातृका प्रसाद लामिछाने, विभिन्न पालिका अध्यक्ष तथा सचिवहरू, पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको बैठकमा उपाध्यक्ष घनश्याम लामिछानेले स्वागत मन्तव्य राखेका थिए। सचिव विमल लामिछानेले निर्देशिका प्रस्तुत गर्दै विषयगत छलफल गराएका थिए भने कोषाध्यक्ष हरि लामिछानेले संस्था सम्बन्धी आर्थिक विवरण प्रस्तुत गरेका थिए।

बैठकले यही आगामी बैशाख २९ गते चण्डी पूर्णिमाका अवसरमा हुने कुलपूजा तथा गोठधुप कार्यक्रमको तयारी गर्न समिति गठन गरेको छ। गुरुप्रसाद लामिछाने संयोजक रहने उक्त समितिमा सबै पालिकाका अध्यक्षहरू सदस्य रहनेछन्।

Views: 98

प्रतिक्रिया (०)