Aamsanchar

अहिलेकै अवस्थामा सरकारसँग शिक्षक वार्तामा जान नसक्ने

Author Image
बुधवार, चैत २७, २०८१

काठमाण्डौ – आन्दोलनरत शिक्षक महासङ्घले अहिलेकै अवस्थामा सरकारसँग वार्तामा जान नसक्ने बताएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको उल्लेख छ ।

शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक हड्ताल आह्वान गरेर काठमाण्डौ केन्द्रित आन्दोलन जारी राखेका शिक्षकहरूलाई हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्तिमार्फत वार्तामा बोलाएको थियो ।

महासङ्घले पनि विज्ञप्तिबाटै जवाफ दिएको हो । चैत २० गते काठमाण्डौ केन्द्रित आन्दोलन शुरू भए पनि सरकारले शिक्षकलाई वार्तामा बोलाएको तेस्रो पटक हो ।

महासङ्घले वार्तामा बस्नुअघि संसद्को वर्षे अधिवेशन तत्कालै शुरू गर्न, विशेष अधिवेशन आह्वान गर्न वा अध्यादेशमार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने शर्त राखेको छ ।

Views: 115

प्रतिक्रिया (०)