




हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।


ढुंगाना अस्पतालबाट डिस्चार्ज भएपछि हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए । बिहान अबेरसम्म नउठेपछि झयालबाट हेर्दा ढुंगाना झुन्डिएको अवस्थामा देखिएपछि हटवालले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार ढुंगाना खादा र टाइको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका थिए । पाइन्टमा लगाउने पेटी भने चुँडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । पेटीलाई पासो बनाउन खोज्दा चुँडिएको हुन सक्ने अनुमान प्रहरीको छ । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले अगुवा कृषकहरूलाई पूर्वीनेपालको भ्रमण सकेर फर्किँदै गर्दा बाप्र ०६–००१ ख ०२७० नम्बरको बस पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी स्थित मदन भण्डारी मार्ग (धरान–चतरा सडक खण्ड) को मोडमा दुर्घटनामा परेको थियो ।


पशु विकास शाखाका प्राविधिक कर्मचारी समेत रहेका ढुंगाना दुर्घटनामा परेर सामान्य घाइते भएका थिए । बसमा सवार अन्य ३० जना घाइते छन् । घाइते हुनेमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र कृषकहरू छन् । उनीहरूको हेटौंडा र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी अर्यालले बताए । घाइतेमध्ये भीमफेदी–६ बस्ने ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षकी सानी आलेको अवस्था गम्भीर छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसका चालक भने फरार छन् ।
प्रहरीका अनुसार ढुंगाना दुर्घटनामा परेको बसका सञ्चालक समेत हुन् । भ्रमणमा सँगै रहेका कृषि प्राविधिक सुदीप पराजुलीका अनुसार बस दुर्घटनापछि ढुंगाना आत्तालिएका थिए । विमलको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।अन्लाईनखबर




































