Aamsanchar

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले उद्योगीसँग छलफल गरे

Author Image
शुक्रवार, चैत २९, २०८१

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौता उठाउन तयारी थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार बक्यौता बाँकी रहेका प्रमुख उद्योगीलाई प्राधिकरणमा बोलाएर छलफल गरका हुन् ।

प्राधिकरणको बोर्ड बैठकले पुनरवलोकन शुल्क पाँच प्रतिशतमा घटाएपछि उद्योगीले सकारात्मकरूपमा लिएको प्राधिकरणले जनाएको छ ।

छलफलमा कार्यकारी निर्देशक शाक्यले विद्युत् सेवा नियमित र भरपर्दो गर्न एकातिरको आपूर्ति अवरुद्ध हुँदा अर्कोतिरबाट लाइन दिन मिल्ने व्यवस्था गर्न लागेको बताएका छन् । यसका लागि पैसा र समय दुवै चाहिने भएकाले तत्काल गर्न नसकिने पनि उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगीहरूका प्रतिनिधि पशुपति मुरारकाले उद्योगीहरू पहिले पनि गलत नभएको र आगामी दिनमा पनि गलत हुन नसक्ने दाबी गरे । उनले छलफलमा भएको सहमतिअनुसार पुनरवलोकनमार्फत विवाद समाधानमा अघि बढ्न प्राधिकरणलाई सघाउन आफूहरू तयार रहेको बताए ।

छलफलमा सिमेन्ट उद्योगीको प्रतिनिधि ध्रुव थापाले मन्त्रिपरिषद्, संसद्को लेखासमिति, विद्युत् नियमन आयोग र लाल आयोगसमेत सबैजसो निकायको निर्देशन प्रयोग गरेको विद्युत्‌को महसुल तिर्नु भन्ने नै रहेको भन्दै आफूहरूले प्रयोग गरेको विद्युत् महसुल तिर्न तयार रहेको बताए ।

बैठकमा कार्यकारी निर्देशक शाक्यले विगतका कुरामा धेरै नगई विषयलाई समाधान गर्नेतर्फ अघि बढ्नु प्राधिकरण र औद्योगिक ग्राहकको हितमा हुने बताए ।

Views: 132

प्रतिक्रिया (०)