Aamsanchar

मेयर हर्क साम्पाङले प्रस्टीकरण दिए

Author Image
बुधवार, असार ४, २०८२

विराटनगर – सुनसरीको धरानमा श्रमदान सम्बन्धी भुक्तानीको विषयमा उत्पन्न विवादको विषयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्टीकरण दिएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस विषयमा उपमेयर अइन्द्र बिक्रम बेघाले भ्रम फैलाएको उनले आरोप लगाएका छन् । श्रमदान गरेर धरानमा विकासका काम अघि बढाइँदा कैफियत नगरिएको दाबी गर्दै आएका साम्पाङले आफ्नो स्टाटसमा पनि सोही कुरा उल्लेख गरेका छन् ।

“फाइल खोसेर उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको बाट लगेको भन्ने बुझिएको । तर, श्रमदाताले पैसा लियो भनेर भ्रामक प्रचार उपमेयरले गरेको कि उपमेयरको आफ्नो मान्छेहरूले त्यो थाहा भएन । कैफियतमा रकम नलिएको श्रमदान मात्र लेखिएको प्रकोष्टलाई हटाएर हिजो भ्रम फैलाइएछ । एकै घण्टामा भ्रम हटेको छ । भो भ्रमको खेती छर्ने हर्कत गर्नेलाई जनताले…,” साम्पाङले लेखेका छन् ।

मेयर र उपमेयरबीच विवाद हुँदा तीन दिनदेखि धरान उपमहानगरपालिका परिसरमै नारावाजी र प्रदर्शन हुँदै आएको छ । दुवै पक्षका समर्थकहरू भेला भएर नारावाजी र प्रदर्शन गर्दा उपमहानगरको दैनिक काम कारबाही प्रभावित भएको छ । मंगलबार मेयर र उपमेयरबीच उपमहानगर परिसरमै हात हालाहालको अवस्था सिर्जना भएको थियो । तर, सुरक्षाकर्मीले सम्भावित झडप रोकेका थिए ।
श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर रकम मागिएको भन्दै उपमेयर बेघाले भुक्तानीमा रोक लगाएपछि धरानमा विवाद सुरु भएको हो ।

 

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर