Aamsanchar

दमक–८ मा जेष्ठ नागरिकका लागि आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न

Author Image
सोमवार, असार १६, २०८२

दमक ।  “स्वस्थ जीवनशैली, सशक्त जेष्ठ नागरिक” भन्ने नाराका साथ दमक–८ स्थित अर्ग्यानिक तरकारी बजार परिसरमा जेष्ठ नागरिक लक्षित आयुर्वेदमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

आज सोमबार पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन दमकको आयोजनामा तथा दमक–८ वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित उक्त शिविरमा १२५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, रक्तचाप मापन तथा आयुर्वेदिक परामर्श प्रदान गरिएको थियो।

शिविरमा ६० वर्षदेखि ९७ वर्ष उमेर समूहका नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमका प्रमुख अतिथि दमक–३ का वडाध्यक्ष धर्मप्रसाद दहाल (दिपेश) ले यस्ता कार्यक्रमहरू प्रभावकारी रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए।

प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले उमेरसँगै देखिने सामान्य स्वास्थ्य समस्याबारे जानकारी दिँदै जीवनशैलीमा सुधार, सन्तुलित आहार र प्राकृतिक उपचार विधिको महत्त्वमाथि प्रकाश पारे।

फाउन्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दमकभरि जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनलाई अभियानकै रूपमा अघि बढाइएको जनाउँदै आगामी वर्षहरूमा अझ बृहत्, समावेशी र प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिए। “जनस्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका लागि हामी निरन्तर नवीन कार्यक्रम सञ्चालन गर्दैछौं,” उनले भने।

फाउन्डेसनका सचिव अर्जुन पौड्यालका अनुसार शिविरमा आयुर्वेद विशेषज्ञद्वारा निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।

कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी टेकनाथ अर्यालले गरेका थिए।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर