अर्जुनधारा। झापा जिल्ला समन्वय समिति सदस्य रिता नेपालीले लगाएको आरोपलाई अर्जुनधारा नगरपालिका–५ का वडा अध्यक्ष गिलाराज खड्काले पूर्ण रूपमा अस्वीकार गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमहरूले प्रसारण गरेको समाचारप्रति प्रतिक्रिया दिँदै वडा अध्यक्ष खड्काले आफू र वडा सदस्य विष्णुप्रसाद कडेलमाथि लगाइएका सम्पूर्ण आरोपहरू असत्य, भ्रामक र नियोजित रहेको स्पष्ट पारेका हुन्।

उनका अनुसार, वडामा प्राप्त उजुरीअनुसार मिति २०८२ असार ९ गते अर्जुनधारा नगरपालिका–१ की बासिन्दा सुमित्रा राजबंशीले रिता नेपालीले आफ्नो शौचालय भत्काएको र घरको छानोमा क्षति पुर्याएको भन्दै निवेदन दिएकी थिइन्। सोही दिन टोल नं. १ का संयोजक शिवप्रसाद घिमिरे, वडा नं. ७ का अध्यक्ष गोविन्द खातीवडा, र अन्य स्थानीयको उपस्थितिमा दुवै पक्षबीच छलफल गरिएको थियो।

जग्गासम्बन्धी विवादका कारण सोही दिन प्राविधिक नापजाँच गरी समस्या समाधान गरिएको थियो। दुवै पक्षबीच सहमति अनुसार वडा सदस्य विष्णुप्रसाद कडेलको उपस्थितिमा मात्र पर्खाल निर्माण गरिने तय भएको अध्यक्ष खड्काले जानकारी दिए।




“न त मैले, न त वडा सदस्य कडेलले कुनै अपशब्द प्रयोग गरेका छौं, न जबर्जस्ती केही गरेका छौं,” अध्यक्ष खड्काले प्रेस विज्ञप्तिमा भनेका छन्। “रिता नेपालीद्वारा लगाइएका सबै आरोप मेरो र वडा सदस्य कडेलको सामाजिक प्रतिष्ठा धुमिल पार्न उद्देश्यपूर्ण रूपमा गरिएको देखिन्छ।”
वडा अध्यक्ष खड्काले आफू निर्वाचित भएदेखि अहिलेसम्म जनप्रतिनिधिको भूमिकामा कुनै पक्षपात नगरी सबैलाई समान रूपमा सेवा गर्दै आएको दाबी गर्दै आएका छन्। साथै उनले रिता नेपालीलाई वडाका कार्यक्रमहरूबारे जानकारी दिँदै आएको समेत उल्लेख गरेका छन्।
अध्यक्ष खड्काले यस्तो नियोजित आरोपबारे जनतालाई यथार्थ जानकारी गराउन आफू बाध्य भएको भन्दै सञ्चारकर्मी तथा सर्वसाधारणलाई तथ्यमा आधारित भएर मूल्याङ्कन गर्न अनुरोध गरेका छन्।
भिडियो पनि हेर्नुहोस् ।

