Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायिक सदस्य राहत कोषका २० लाख जम्मा, कार्यविधि सार्वजनिक

Author Image
बिहिवार, असार १९, २०८२

बिर्तामेड । विपद्, दुर्घटना वा अन्य आकस्मिक घटनाबाट उद्योगी व्यवसायीलाई राहत र सहानुभूति स्वरुप सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले सुरुगरेको ‘व्यवसायिक सदस्य राहत कोष सञ्चालन कार्यविधि’ सार्वजनिक गरेको छ ।

संघले आफ्ना दर्ता भएका सदस्य व्यवसायी तथा उनीहरूका परिवारलाई प्राकृतिक प्रकोप, आगलागी, चोरी, बाढी वा दुर्घटनाबाट उत्पन्न क्षति तथा मृत्युजस्ता घटनामा राहत तथा क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले सो कोष सञ्चालनमा ल्याएको हो।
संघको विधान २०७३ को परिच्छेद ५ को दफा १४ को उपदफा (व) अनुसार तयार पारिएको कार्यविधिमा उल्लेख भएअनुसार सो कोषमा जम्मा हुने रकमको ब्याजबाट राहत तथा सहायता प्रदान गरिनेछ ।

राहत कोष सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु) को संयोजकत्वमा ९ सदस्यीय उप–समिति गठन गरिएको छ । सदस्यहरूमा विशाल थापा, गोमा भट्टराई, कुशल खतिवडा, युवराज निरौला, तिलोतमा खत्री, रमेश घिमिरे, दिनेश श्रेष्ठ र शत्रुधनप्रसाद गुप्ता छन्।

संघका अध्यक्ष राजु न्योपानेको भनाई अनुसार प्राकृतिक प्रकोप, आगलागी, चोरी वा बाढीबाट क्षति पुगेमा सुरुवाती चरणमा अधिकतम रु.२५,०००।– सम्म राहत प्रदान गरिनेछ भने सदस्यको मृत्यु भएमा परिवारलाई रु.१५,०००।– सम्म संघ मार्फत सहयोग हुने छ ।
राहत पाउनका लागि सम्बन्धित घटनाको मितिबाट ३५ दिनभित्र संघमा लिखित सूचना दिनुपर्नेछ । साथै, सदस्य वा परिवारका हकवालाको विवरण संघमा बुझाएको हुनुपर्नेछ ।
संघको कार्यसमितिले नयाँ वा आवश्यक विषयहरूमा निर्णय गरी सहुलियत वा राहतको दायरा थप गर्न सक्नेछ र उक्त निर्णय साधारण सभाबाट अनुमोदन गरी लागू गर्ने बताइएको छ ।

नियम अनुसार चालु आर्थिक वर्षको नविकरण घटना हुनुभन्दा कम्तीमा एक महिना अगाडि भएको हुनुपर्नेछ । नयाँ सदस्यले सदस्यता प्राप्त गरेको मितिले तीन महिनापछि मात्र राहत पाउने व्यवस्था गरिएको छ ।
संघले कोष वृद्धि गर्न संघका सदस्य, परिवार, संघसंस्थाहरू वा इच्छुक दाताहरूबाट योगदान लिन सकिने पनि जनाएको छ ।
संघका अध्यक्षको अनुसार, यो राहत कोषले विपद् वा दुःखद् परिस्थितिमा व्यवसायीहरूलाई तत्कालिक राहत प्रदान गर्ने र उनीहरूमा आशाको वातावरण बनाउने विश्वास गरिएको छ ।

कोषमा हाल २० लाख ४५ हजार रुपैयाँ जम्मा भइसकेको छ । निकट दिनमा कोषलाई १ करोड बनाउने संघको लक्ष रहेको छ ।
आज संघको सभाहलमा आयोजना भएको कार्यविधी घोषणा कार्यक्रमकै बिच व्यवसायी राजेन्द्र थापा र केदार गिरीले ५१–५१ हजार सहयोग गर्ने घोषणा गरेको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।

 

 

 

 

ब्कप ऋजबतन्एत्

 

Views: 181

प्रतिक्रिया (०)