Aamsanchar

चीनतर्फबाट आएको बाढीले २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प

Author Image
मङ्गलवार, असार २४, २०८२

प्रतिकात्मक फायल तस्वीर गुगलबाट ।

काठमाडौं। चीनको सीमा क्षेत्रबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका जलविद्युत् आयोजना प्रभावित भएका छन् । तीमध्ये २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणले जनाएको छ । यद्यपि, वर्तमान माग धान्न पर्याप्त आपूर्ति भइरहेको प्रवक्ता राजन ढकालको भनाइ छ ।

बाढीबाट सबैभन्दा धेरै क्षति रसुवाको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ । बाँधको एउटा गेट बगाएर ड्याममा समेत क्षति पु¥याएको ढकालले जानकारी दिए । त्रिशूली कोरिडोरभित्रका अन्य आयोजनाहरू पनि जोखिम न्यूनीकरणका लागि बन्द गरिएको छ ।

त्रिशूली करिडोरका आयोजना प्रभावित
प्रवक्ता ढकालका अनुसार बाढीले रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली ‘थ्री ए’ मा प्रत्यक्ष असर पारेको छ । त्रिशूली करिडोरमा मात्रै ६–७ वटा जलविद्युत् प्लान्टहरू बन्द अवस्थामा छन् । ती आयोजना बन्द हुँदा कुल २५० मेगावाटभन्दा बढी उत्पादन प्रभावित भएको छ ।

केही आयोजनामा भौतिक क्षति पुगेको छ भने केहीलाई सुरक्षित राख्न प्राधिकरणले स्वेच्छाले गेट बन्द गरेर उत्पादन रोकेको हो ।

माथिल्लो त्रिशूली थ्री एमा ड्याम क्षति, दुई गेट बगाए
प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल्सिनाका अनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए आयोजनाको ड्याम साइडमा दुईवटा गेट बगाएको छ । यसबाहेक आयोजनासँग सम्बन्धित त्रिशूली थ्री बी हब सबस्टेसनको टावरमा पनि क्षति पुगेको उनले बताए ।

यसैगरी २१ मेगावाट क्षमताको तल्लो त्रिशूली जलविद्युत् आयोजना पनि बाढीका कारण ठप्प छ । तिमल्सिनाले गेट अड्किएको कारण उत्पादन रोकिएको भए पनि ठूलो संरचनात्मक क्षति भने नभएको बताए ।

रसुवास्थित चिलिमे, साञ्जेन, रसुवागढी जस्ता अन्य आयोजनामा पनि क्षति पुगेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

आपूर्तिमा समस्या छैन, प्राविधिक स्विचिङले बत्ती जाने समस्या
ठुला आयोजना बन्द भए पनि देशभर विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको प्राधिकरणको दाबी छ ।
प्रवक्ता ढकालका अनुसार अन्य वैकल्पिक स्रोतहरूबाट उत्पादन व्यवस्थापन गरिएकाले माग अनुसार आपूर्ति कायम गरिएको छ ।

काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा देखिएको बत्ती जाने समस्याबारे ढकाल भन्छन्, “उत्पादन कम भएर होइन, प्रणालीमा आयोजना बन्द हुँदा व्यवस्थापनका क्रममा गरिएको स्विचिङका कारण प्राविधिक समस्या देखिएको हो ।“

उनका अनुसार यो समस्या अस्थायी हो र व्यवस्थापकीय कारणले केही समयका लागि मात्रै देखिएको हो ।

सम्भावित थप वर्षा र बाढीको जोखिमको आँकलन भइरहेकाले नेपाल विद्युत् प्राधिकरण उच्च सतर्कतामा छ, र प्रभावित आयोजना पुनः सञ्चालनमा ल्याउने काम तीव्र गतिमा अगाडि बढाइएको छ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर