भद्रपुर। झापा भद्रपुर नगरपालिका–१० मिलनचोकका जुनु राई र ध्रुव रेग्मी दृष्टिविहीन दम्पती हुन् । जन्मदेखिकै दृष्टि समस्याबाट पीडित ध्रुवको अवस्था पछि मात्र परिवारलाई थाहा भएको थियो भने जुनुले तीन वर्षको उमेरमै आँखाको ज्योति गुमाएकी थिइन् ।

आफैं अपांगता भोगिरहेका रेग्मी दम्पतीको जीवन झन कठिन बनाएको छ – उनीहरूका १३ वर्षीय छोरा अभिषेक । उनी अटिज्मबाट पीडित छन् र मानसिक रूपमा असन्तुलित छन् । अभिषेक अपरिचित व्यक्तिहरूलाई एक्कासी गाली गर्न, झम्टिन सक्ने, सुन्दर वस्तु देखे फुटाउन तम्सिने र अनियन्त्रित व्यवहार देखाउने गर्छन् ।

ध्रुव रेग्मी भन्छन्, “अभिषेकलाई कसरी जोगाउने चिन्ताले हामी दिनरात पिरोलिन्छौं । कहिलेकाहीँ कोठामा थुनेर राख्नुपर्ने हुन्छ ।”
उनको हेरचाह मुख्यतः हजुरआमाले गर्दै आइरहेकी छिन्, तर उनी नभएमा रेग्मी दम्पतीलाई थप समस्या हुने गर्छ ।

अभिषेक हेर्दा सुन्दर र सामान्य देखिन्छन्, तर उनको व्यवहारिक अवस्था एकदमै फरक छ । परिवारको आर्थिक अवस्था पनि कमजोर छ । भाइको वैदेशिक रोजगारीबाट आएको केही सहारामा उनीहरू जीवन गुजारिरहेका छन् ।


यो दुःखद अवस्था थाहा पाएपछि नेपाली कांग्रेसका महामन्त्री तथा झापा–१ का सांसद विश्वप्रकाश शर्मा गम्भीर बनेका छन् ।
शर्माले रेग्मी परिवारको अवस्थाबारे कौशल भण्डारीमार्फत जानकारी लिएका हुन् । शनिबार उनी स्वयं परिवारको घरमै पुगेर अवस्थाबारे जानकारी लिएका थिए ।
सांसद शर्माले अभिषेकको उपचारका लागि “संभव सबै उपाय र स्रोतको खोजी गरिने” प्रतिबद्धता व्यक्त गर्दै भने, “स्थानीय तह, युवा र स्वयंसेवकहरूको समन्वयमा हामी सम्भव सबै सहयोग जुटाउने छौं ।”
शर्माले सोमबार झापा पुगेर थप जानकारी लिने र उपचार तथा आवश्यक सहजीकरणका लागि पहल गर्ने जनाएका छन् ।
उनको भनाइमा, “अत्यावश्यक औषधोपचार, मानसिक स्वास्थ्य सेवा र जीवनयापन सहज बनाउनेतर्फ सहयोग अभियान अघि बढाइनेछ ।”

