Aamsanchar

कर्मचारीमाथिको हातपात र चरित्र हत्या प्रयासप्रति सहारा नेपाल साकोस एकीकृत संगठनको घोर आपत्ति

Author Image
सोमवार, असार ३०, २०८२

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको एकीकृत कर्मचारी संगठनले आफ्ना कर्मचारीमाथि भएको दुव्र्यवहार र हातपातप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज सोमबार संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आइतवार दिउँसो भएको घटनाप्रति तीव्र आपत्ति जनाइएको छ । सहारा नेपाल साकोसको मधुमल्ला सेवा केन्द्रमा कार्यरत प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेमाथि मिक्लाजुङ गाउँपालिका–२, रचना टोलमा अमानवीय व्यवहार गरिएको उल्लेख छ ।

सदस्य दुर्गामाया लिम्बु र माया मगरले कर्जा नविकरणका लागि कर्मचारीलाई बोलाई पूर्व योजनाअनुसार दुव्र्यवहार गरेको र सेवा केन्द्र प्रमुखमाथि हातपातसमेत गरिएको संगठनले जनाएको छ । घटना चलिरहेको बेला भिडियो खिची सामाजिक सञ्जालमा अपलोड गरी कर्मचारीको चरित्र हत्या प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।

संगठनले यस्तो निकृष्ट, निन्दनीय र अक्षम्य व्यवहारले सहकारी संस्था भित्र कार्यरत कर्मनिष्ठ कर्मचारीको मनोबलमा प्रतिकूल असर पार्ने भन्दै सम्पूर्ण कर्मचारी परिवारले घोर भत्र्सना गरेको जनाएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियो हटाई आपराधिक मनसाय देखाउनेहरूमाथि कडा भन्दा कडा कानुनी प्रक्रिया थाल्न संगठनले प्रशासनसँग जोडदार माग गरेको छ।

संगठनले कानुनी राज्यको मर्यादा विपरीत यस किसिमको दुव्र्यवहार र अराजक गतिविधिलाई रोक्न राज्यसंयन्त्र गम्भीर नदेखिएको भन्दै चासो व्यक्त गरेको छ ।
घटनाले कर्मचारी सुरक्षामाथि प्रश्न उठाएको भन्दै अब यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित निकायले तुरुन्त ध्यान दिनुपर्ने संगठनको माग छ ।

Views: 48

प्रतिक्रिया (०)