Aamsanchar

जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा सार्वजनिक सुनुवाइ सम्पन्न

Author Image
मङ्गलवार, असार ३१, २०८२

भद्रपुर, झापा । जिल्ला प्रशासन कार्यालय, झापाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति झापाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको नेतृत्वमा प्रशासन, प्रहरी र अन्य सरकारी कार्यालयहरूसँग प्रत्यक्ष सरोकार राख्ने सेवाग्राहीहरूको गुनासो, सुझाव र जिज्ञासामा जवाफ दिइएको थियो।

कार्यक्रममा झापाका १६ वटा प्रमुख कार्यालयका प्रमुखहरू सहभागी थिए। सहभागीहरूले मालपोत, नापी, सडक डिभिजन, प्रहरी, विद्युत प्राधिकरण, कृषि ज्ञान केन्द्रलगायतका कार्यालयका कामप्रति चासो राख्दै ढिलासुस्ती, असन्तुष्टि र सम्भावित अनियमितताको विषयमा प्रश्न गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल वार एशोसिएसन झापाका अध्यक्ष वशन्त नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले समिक्षात्मक टिप्पणी गर्दै नागरिकले सेवा लिँदा भोगेका कठिनाइबारे धारणा राखेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लाभरिका विभिन्न पालिकाबाट संस्थागत प्रतिनिधित्व हुँदै सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले गरेका थिए।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर