बिर्तामोड । पछिल्लो समय नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढ्दो छ, जुन नेपालका लागि केवल तथ्य मात्र होइन, गहिरो चिन्ताको विषय पनि बन्न थालेको छ। झापा जिल्ला प्रशासन कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्र ६२ जनाले नेपाली नागरिकता त्याग गरेका छन् र गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिएका छन्।

यता, सोही अवधिमा वंशजको आधारमा २२ हजार ४० जनाले नयाँ नागरिकता लिएका छन् भने वैवाहिक अंगीकृत नागरिकताको संख्या ६७५ रहेको छ। नागरिकताको प्रतिलिपि माग गर्नेको संख्या पनि २२ हजार ४५५ पुगेको छ, जुन नागरिकता कति संवेदनशील विषय हो भन्ने कुरालाई झल्काउँछ।

तर नागरिकता त्यागको यो बढ्दो प्रवृत्तिले नेपालमा दीर्घकालीन असर पार्ने स्पष्ट संकेत देखिन्छ।

किन नागरिकता त्याग्दैछन् नेपालीहरू ?
विदेशमा स्थायी बसोबास, राम्रो जीवनस्तर, शिक्षा र रोजगारीका अवसर, सरकारी सेवामा दोहोरो नागरिकताको निषेध जस्ता कारणले धेरै नेपालीहरू विदेशी नागरिकता रोज्न बाध्य छन्। नागरिकता त्याग गरेसँगै उनीहरू राजनीतिक अधिकार, सिविल सेवा वा अन्य संवैधानिक अधिकार गुमाउँछन्, तर आर्थिक रूपमा भने नेपालसँग सम्बन्ध टुट्दैन। यस्ता नागरिकहरूले विदेशबाट पठाउने रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा भूमिका खेलिरहेका छन्, तर उनीहरू नेपालको मतदाता सूचीबाट हट्छन् — जसले लोकतान्त्रिक सशक्तीकरणलाई असर पुर्याउँछ।


कालान्तरमा असर के पर्छ ?
नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि नागरिकता त्याग खतराको संकेत हो। यसले ब्रेन ड्रेन (योग्य जनशक्ति पलायन) बढाउँछ, जसको सीधा असर विकास र नवप्रवर्तन क्षमतामा पर्छ।
साथै, विदेश गएर सफल भएका नेपालीहरूलाई मातृभूमिमा लगानी गर्न आकर्षित गर्न सरकारी नीति अपर्याप्त देखिन्छ। गैरआवासीय नेपालीहरूलाई अझै पनि दोहोरो नागरिकताको व्यवस्था नभएका कारण भावनात्मक रूपमा देशसँग टाढिन सक्ने खतरा बढ्दो छ। दीर्घकालमा यसले राष्ट्रिय एकता, सामाजिक संरचना र रणनीतिक जनशक्ति निर्माणमा समस्या निम्त्याउन सक्छ।
नागरिकता मात्र कागज होइन
नागरिकता कुनै कागजी परिचय मात्र नभएर राष्ट्रप्रतिको उत्तरदायित्व, गौरव र भावनात्मक सम्बन्धको प्रमाण हो। जब नागरिकहरू त्यो सम्बन्ध त्याग्छन्, तब राज्यले आफैंलाई प्रश्न गर्नु आवश्यक हुन्छ — “हामीले यिनलाई किन गुमायौं ?”
यथाशीघ्र प्रभावकारी नीति निर्माण नगरेमा र जनशक्तिको सही व्यवस्थापन नहुँदा, नेपाली समाजको ढाँचामा नै परिवर्तन आउन सक्छ। भविष्यमा नागरिकताको अर्थ केवल कानुनी मान्यता नभई, भावनात्मक र राष्ट्रिय आत्मसमर्पणको प्रतीक बन्न सकोस् भन्ने अपेक्षा गर्नु अहिलेको आवश्यकता हो।

