Aamsanchar

जेनजी प्रदर्शन : १४ जनाकाे मृत्यु , २२ जनाको अवस्था गम्भीर

Author Image
सोमवार, भदौ २३, २०८२

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो। यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो।

राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना ,सिभिल अस्पतालमा २ र एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २,त्रिवि शिक्षण अस्पतालमा १ जनागरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयका अनुसार प्रदर्शनमा घाइते करिब २ सय जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सिभिलमा १०० जना बढी,ट्रमा सेन्टरमा ४६ जना ,एभरेष्ट अस्पतालमा ३४ जना ,केएमसीमा ३१ जना,त्रिवि शिक्षण अस्पतालमा १८ जना गरी १९४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्रालयका अनुसार २२ जना घाइतेको अवस्था गम्भीर छ। ट्रमा सेन्टरमा ४ जना, केएमसीमा ८जना,त्रिवि शिक्षण अस्पतालमा ६ जना र पाटन अस्पतालमा ४ जनासहित २२ जनाको अवस्था गम्भीर छ।

बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली चलाएको थियो। प्रदर्शनका क्रममा केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ। सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

Views: 97

प्रतिक्रिया (०)