Aamsanchar

‘अपराधबोध’ भएको भन्दै कृषिमन्त्री अधिकारीले दिए पदबाट राजीनामा

Author Image
मङ्गलवार, भदौ २४, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले सरकारको हालैको ‘अलोकतान्त्रिक कदम’ र त्यसअन्तर्गत भएको दमनलाई अस्वीकार गर्दै सोमबार साँझ सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरेका हुन्।

धादिङ–२ बाट नेपाली कांग्रेसका सांसदसमेत रहेका अधिकारी गत असार ३१ गते मात्र मन्त्री बनेका थिए। तर, भाद्र २३ गते देशभर न्भल श् पुस्ताले सञ्चालन गरेको आन्दोलनमाथि भएको व्यापक दमन, हत्या र बल प्रयोगपछि आफूलाई पदमा रहिरहन ‘अपराधबोध’ भएको उनले बताएका छन्।

“लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको अधिकार हो, तर यसको सट्टा सरकारले बल प्रयोग गरेर मुलुकलाई तानाशाहीतर्फ धकेल्न खोजेको देख्दा म स्तब्ध भएँ,” मन्त्री अधिकारीको राजीनामा पत्रमा उल्लेख छ। उनले जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा ठूलो केही नहुने भन्दै सत्ता मोहका कारण सरकारमा बसिरहन ‘नैतिक असमर्थता’ भएको स्पष्ट पारेका छन्।

अधिकारीले देश निर्माणमा सहकार्य गर्नुपर्ने युवा पुस्तासँग ‘युद्ध गर्ने व्यवहार’ देखाएको भन्दै सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। उनले कलिला छोराछोरीहरूको रगत बगाएपछि सत्तामा बसिरहनु नै ‘दलको शिक्षा र लोकतान्त्रिक मूल्यको प्रतिकूल’ हुने चेतावनी दिएको उल्लेख गरेका छन्।

राजीनामा सन्देशको अन्त्यमा अधिकारीले “हामीभन्दा बढी सम्माननीय जनता हुन् भन्ने चेतना नेताहरूमा जागोस्” भन्दै शुभेच्छा प्रकट गरेका छन्।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री पद गुमाउने अधिकारी हालसम्म दमनको घटनाप्रति प्रत्यक्ष जिम्मेवारी लिएर पद त्याग गर्ने पहिलो मन्त्री बनेका छन्।

यस्तो छ मन्त्रीको भनाई :

आदरणीय नेपाली जनसमुदायहरू,

नमस्कार, जय नेपाल !

म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।

पटक–पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने बिडम्बनाबाट मुलुकले चाँडै निकास पाउनु पर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामी भन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी ’नेता हौं’ भन्नेहरुमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

जय नेपाल !

२४ भाद्र २०८२

रामनाथ अधिकारी

मन्त्री

कृषि तथा पशुपन्छी विकास मन्त्रालय,

सिंहदरबार, काठमाडौं

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर