

झापा । प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार भएका दुई युवकसहित आठ जनालाई झापाको दमकमा लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ।

शनिबार साँझ दमक नगरपालिका–३ बेलडाँगी भुटानी शरणार्थी शिविरमा प्रहरीले छापा मार्दा ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो। इलाका प्रहरी कार्यालय दमकको टोलीले प्राप्त सूचनाको आधारमा सेक्टर ‘ए–३’ हट नं. ३५३ बस्ने साजन थापाको घरमा खानतलासी गर्दा उक्त मात्रा फेला परेको थियो।
प्रहरीका अनुसार लागूऔषध बिक्री वितरणको तयारी अवस्थामा भेटिएकामध्ये दमक–३ का १८ वर्षीय आदित्य लिम्बू इलाका प्रहरी कार्यालय दमकमा भएको हातहतियार लुटपाट घटनामा संलग्न व्यक्ति हुन्। त्यस्तै मोरङ मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल भने लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेका बेला उर्लाबारी प्रहरी हिरासतबाट फरार भएका युवक हुन्।

लागूऔषधसहित पक्राउ पर्ने अन्यमा साजन थापा (२७), दीपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५), र विजय माझी (२५) रहेका छन्।
झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार, पक्राउ परेकामध्ये आदित्य लिम्बू जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि हतियार लुट्ने समूहमा संलग्न थिए। उनले भने, “पक्राउ परेकामध्ये केही पहिले नै फरार सूचीमा रहेका थिए, सबैमाथि थप अनुसन्धान भइरहेको छ।”
प्रहरीले बरामद ब्राउन सुगर र पक्राउ परेका सबै जनालाई थप कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

