

झापा – जामुनवारी सामुदायिक वन उपभोक्ता समूह जामुनवारी सिमसार तथा पर्यटकीय क्षेत्रको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समुदायिक वनको सभाहलमा सम्पन्न सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ६४ लाख ४२ हजार २ सय ८७ रुपैयाँ ७० पैसा अनुमानित बजेट सार्वजनिक गरिएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा समूहले १ करोड ५२ लाख ४३ हजार २ सय २१ रुपैयाँ मात्र आम्दानी गरेको समूहका अध्यक्ष पर्शुराम गिरिले आफ्नो प्रतिवेदनमार्फत जानकारी दिनुभयो।


देशकै नमूना सामुदायिक वन र पर्यटकीय क्षेत्रको रूपमा परिचित जामुनखाडीमा पछिल्लो समयमा पर्यटक आगमन घट्दै गएपछि आम्दानीमा कमी आएको अध्यक्ष गिरीले बताउनुभयो। उहाँले चरिचरण नियन्त्रण, उपभोक्तामार्फत श्रमदान अभियान, सिमसार सौन्दर्यकरण, सरसफाइ, बदेल र चित्तल प्रजनन केन्द्र सञ्चालन, बिक्री वितरणलगायतका ९ बुँदे रणनीतिक योजना प्रस्तुत गर्नुभयो, जसलाई सभाले अनुमोदन गरेको छ।
कार्यक्रममा डिभिजन वन कार्यालय कनकाईका प्रमुख महेन्द्र पौडेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा उत्कृष्ट कर्मचारी वन हेरालु चन्द्रध्वज माझीलाई ३ हजार ५ सय रुपैयाँ नगद, दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको छ। त्यस्तै, समूहमा रहेको देवी पञ्चकन्या पाथीभरा मन्दिरमा पिउनेपानी धारा जडान गरी सहयोग गर्ने चन्द्रप्रसाद तिम्सीनालाई पनि दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो।
अध्यक्ष गिरीले जामुनखाडी सिमसार क्षेत्र मात्र नभई कोशी प्रदेशकै उत्कृष्ट चिडियाघर भएकाले यसको पूर्वाधार विकासका लागि सरकारका विभिन्न तहसँग योजना र कार्यक्रम माग गरिने बताउनुभयो। साथै, सिमसार क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै दीर्घकालीन विकासको अवधारणा पनि प्रस्तुत गर्नुभयो।
कार्यक्रममा प्रजापति सामुदायिक वनका अध्यक्ष मात्रिका पोखरेल, जामुनवारी सामुदायिक वनका पूर्वअध्यक्ष ख्यामराज सिटौला, कनकाई नगरपालिका–२ का वडाध्यक्ष बलराम राई, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम समूहका सचिव दीपक ओलीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष रेनु खवासले स्वागत मन्तव्य राख्नुभयो। कोषाध्यक्ष रचना सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव मिलन चौहानले आगामी वर्षको अनुमानित वार्षिक योजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो।

