Aamsanchar

“योगी नरहरिनाथ: धर्म, संस्कृति र राष्ट्रका प्रहरी”

Author Image
मङ्गलवार, कार्तिक १२, २०८२

संसार गतिशिल छ यो गतिशिल संसारको बहावलाई जसले कठिन परिस्थिती खेपेर पनि सहज स्विकार गर्दछ त्यो नै यो दिव्यधामको साक्षी बन्न सक्छ। व्यक्ती पनि त्यही सफल मानिन्छ जो वहावलाई आफ्नो गतिसँग समाहित गर्न सक्छ, अन्यथा ऊ किनारमा नै सधैंका लागि छोडिन्छ र उसको संसारमा जन्मनु र मर्नुमा नै सिमित हुन्छ । मानिस एकदिन जन्मन्छ त्यसैगरि फेरि यश धराधाम( धर्ती) बाटा बिदा लिन्छ ,तर संसारलाई कुनै फरक पर्दैन, किन कि उसको गति शून्य रहयो। मानव जीवनका दुई यस्तै पाटा भनौं वा किनारा सबैले भोगेका छन ।

सफलता – असफलता , अँध्यारो- उज्यालो, रात- दिन , राम्रो – नराम्रो , सुख – दु: ख आदि मानौ एक पछि अर्को आउँछ नै सायद यी दुई एक सिक्काका दुई पाटा हुन ।यश प्रकृतिमा ( धराधाममा ) जन्मिने सबैको आ -आफ्नो ईतिहास र जीवन कहानी हुन्छ्न नै ,सफल व्यक्तिका जीवन कहानी अमर अजर र लिपिवद्ध हुन्छन उनिहरु भौतिक शरीर रुपान्तरित भएर व्रम्हलिन भए पनि संसारले त्यस्ता अमर व्यक्तिको विचारको अनुसरण गर्दै जीवन अघि बढाउँछन ,भने असफल व्यक्ती त्यत्तिकै सकिन्छन ती यो संसारमा थिए थिएनन थाह हुँदैन , मानौ ऊ संसारमा छँदै थिएन । त्यस्तै यश धराधाम( धर्ती) का एक महान व्यक्ती हुन जो भौतिक रुपमा उपस्थिती नभए पनि उनका विचार र पुर्विय दर्शन एवम हिमवतखण्डको पुनर्जागरणका हिमायती योगि नरहरी नाथ ।

योगी नरहरिनाथ राजा, राजा र राजसंस्था भन्नू हुन्थ्यो ; तर राजाकै पालामा उनलाई पटक – पटक बन्दी बनाइयो । योगि ले नेपालको परिस्थिती राष्ट्र अन्तराष्ट्रीय परिस्थी राम्रो बुझेका रहेछन भन्ने आज चर्चा चलेको पाइन्छ । उनले बोलेका वा लिपिबद्ध गरि सुम्पेका ग्रन्थ हरु आज यथार्थमा परिणत भएका छन । योगी नरहरिनाथ नेपाली संस्कृतिका प्रणेता मात्र थिएनन । उनी नेपाल र नेपालीका आदर्श मार्गनिर्देशक थिए । यतिहुँदाहुँदै पनि बाँचुन्जेल धेरै असहज परिस्थिती खेप्नुका साथै उनी तिरस्कृत पनि भए । तर उनको शेषपछि नेपालमा उनको अभाव खड्किएको छ । उनी नेपाली जनजीवनमा आफ्नो भेष, भूषा, भाषा र संस्कृतिका कट्टर समर्थक र उत्थान कर्ताको रूपमा समर्पित थिए । उनको विशिष्ट योगदानका कारण उनी मेची महाकालीभरी नै चर्चित थिए ।

उनी भौतिक रूपबाट र मनोभौतिक आवश्यकताबाट माथि उठे । उनले योगशास्त्रलाई पूर्णरुपमा अङ्गाले तापनि उनी आफ्नो धर्म, संस्कृति र मौलिक सभ्यताको संरक्षण र विकासमा नै लागिरहे । योगी नरहरिनाथ विक्रम सम्वत् १९७१ फागुन १७ गते कर्णाली अञ्चलको कालीकोट जिल्ला लालु गाउँमा पिता ललित सिंह थापा माता गौरा देविको शुयोग्य कोख बाट जन्मेका थिए । उन को नाम बलविर सिहं थापा रहेको थियो । भारद्धाज गोत्री बझाङ्गी सिंह ठकुरिहरु कै सन्तती हुन भने उनका गुरु छिप्रनाथ थिए । उहाँको एक्लो आवाल ब्रहृमचारी जीवन वि स २०५९ साल फागुन १४ गते ब्रम्हलिन हुनपुग्यो । योगी नरहरिनाथले विद्यालङ्कारसम्मको शैक्षिक उपाधि प्राप्त गरे तापनि उनी इतिहासको खोजीमा समर्पित भैरहे । यसै सिलसिलामा उनले नेपालका सम्पूर्ण भेगको पैदल यात्रा गरे । पचहत्तरै जिल्लाका गाउँगाउँ डुल्नेक्रममा उनले ठाउँठाउँमा पुगेर धेरैलाई ज्ञान दिए, बुद्धि दिए र हिंड्ने बाटो पनि देखाई दिए ।

त्यतिमात्र होइन, एशिया, युरोप र अमेरिकाका केही राष्ट्रहरूको पनि उनले भ्रमण गरि अन्तराष्ट्रीय परिवेशको ज्ञान बटुल्नुका साथै सनातन हिन्दु धर्मको जागरण समेत गर्नु भएको थियो । अन्तराष्ट्रीय परिवेशको अनुसंन्धान( सिकाइ बुझाइ ) बाट योगी नरहरिनाथका लागि राजसंस्था र पञ्चायती व्यवस्था प्यारो थियो । तर उनलाई राजदरबार र सिंहदरबार मिलेर जेल पनि हालियो, धेरै पटक यातना र बन्दिजीवन विताउनु पर्‍यो । तर पनि उनले पञ्चायती व्यवस्थालाई नेपालको वैदिक दर्शनको उपज ठाने । उनी सनातन हिन्दू संस्कृतिको मौलिकता राजाको नेतृत्वमा मात्र भेट्थे । तर उनलाई राजाले भेट्नै चाहेनन् । उनी बहुदलीयता र संसदीय व्यवस्थाका कट्टर विरोधी थिए । यसबारे उनी भन्थे ”यस पद्धतिमा सीमित दलीय स्वार्थ र खिचातानले विदेशी प्रभाव पर्छ र राष्ट्रिय अखण्डता नै समाप्त हुन सक्छ भन्ने उहाँ मा राम्रो ज्ञान भएको पाइन्छ ” तर निर्दलबादीले नै यिनलाई चौखुर्‍याए , उहाँ को भावना विचार शासक प्रशाक दुवै ले ख्याल गरेनन उनी माथी उल्टो मात्र सोचे। योगीका अनुसार राजाका छेउमा बस्नेहरुमध्येको संख्या प्रायः लठ्ठकहरुको हुन्थ्यो । उनी भन्थे ”डेट स्क्स्पाएरहरूका घेरोमा राजाको आसन छ ।”

अनि योगी तिनै नौटङ्कीहरूको कोपभाजन हुन थाले । उनी राजा र जनतामाझको पर्खाल भत्काउन खोज्थे । त्यसैले भारदारहरूले यिनको गलामा पासो पुर्‍याइरहन्थे । एक पटक साप्ताहिक विमर्शमा हरिहर बिरहीलाई अन्तर्वार्ता दिदै उनले भनेका थिए ”राजाले आफ्नो छाता आफैं ओढ्नु पर्छ, नत्र भने जसले राजालाई छाता ओढाई दिन्छ, उसैले त्यो छाता आफै ओड्न थाल्छ ।” यिनका लागि त्यो अन्तर्वार्ता बिष भयो । अनि राजदरबारबाटै फेरि यी लखेटिए । त्यतिमात्र होइन यिनको अन्तर्वार्ता लिने हरिहर बिरहीलाई समेत आठ महिना कैदीबन्दी बनाइएको थियो । वास्तवमा त्यस घडी योगीभन्दा राजाका धुपौरेहरू आफूलाई बुद्धिजीवी र देशभक्त ठान्थे । अनि उनीहरूकै झोसपोलमा राजाले योगीलाई जेलखाना हाल्न हुकुम दिन्थे । फेरि जेलमा नै बसेर पनि योगी राजसंस्थाकै गीत गाउँथे । यी कुरा सुन्दा बडो अचम्मलाग्न सक्छ । जसले सधैं आफू लाई दु: ख दिन्छ सास्ती भोग्नु पर्छ , तर पनि त्यही व्यवस्था र राजा को गुनगान गाई रहे , यसको अर्थ अहिले नेपाली माटोले नेपाली जनले बुझ्दै गएको पाइन्छ । किन यसरी योगि राजसंस्था एकता को प्रतीक नेपाली को गौरव र सानमान हो भनी गुनगान गाउँथे भन्ने मा प्रष्ट हुँदै गएको छ ।

योगी नरहरिनाथले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्न दिव्योपदेशमा नेपालको मौलिकता र असंलग्नता छर्लङ्गिएको देखे । २०१७ सालअघि पनि देशलाई बहुदलको गर्तमा डुबाएर राष्ट्रिय सार्वभौमिकता नै खतरामा पारिएको बेहोरा उनले बाँचुन्जेल लेखिरहे । त्यसपछि पनि नेपालमा बहुदलीय र संसदीय व्यवस्था काम लाग्दैन भनेर उनी कुर्लिरहे । योगी नरहरिनाथ महान् देशभक्त र राष्ट्रिय भावनाका सूत्रधार थिए । उनले जति लेखे नेपालकै मौलिकता लेखे । रैथाने संस्कार संस्कृती विविधतामा एकता र अनेकतामा एकता देखे ,उनले आफ्नै सिङ्गो परिश्रम र प्रयासबाट नेपालको इतिहासका ६४ भाग ठेलीहरू लेखे । उनले धार्मिक र सांस्कृतिक पुस्तक लेखेर नेपाल र नेपालीका लागि बिर्सिनसक्नु गुन लगाए ।

उनका भाषण, लेख र पुस्तकहरूमा नेपाली माटोको गन्ध भेटिन्छ, सुवास पाइन्छ र त्यसभित्र वैदिक आत्मा पनि बोल्दछ । अझै पनि उनका कृति पढ्ने हो भने सुषुप्त चेतनालाई झक्झक्याउँछ र त्यसले मरेको आस्था पनि ज्यूँदो बनाउँछ । उनको दर्शन पढ्ने हो भने मूर्दा हुन आँटेको राष्ट्रियताको भावनामा पनि प्राण सञ्चार गराउँछ । धर्मसंस्कृति र राष्ट्रिय चिन्तनमा आधारित उनका ५०० भन्दा बढी शोधपरक ग्रन्थहरू प्रकाशित भइसकेका छन् । कैयन उहाँ का लेख विचार हरु प्रकाशित हुन बाँकी छन । योगी नरहरिनाथ सांसारिक माया, ममता र भौतिक मोहदेखि माथि उठेका थिए । उनलाई जीवनमा सुख र दु:खको स्मरणीय अनुभव पनि थिएन । तैपनि बृहत राष्ट्रिय र सांस्कृतिक हितका निम्ति उनी सदैव चिन्तित थिए । नेपालका मात्र होइनन् विश्व सनतन हिन्दू संस्कृतिकै विभूति योगी नरहरिनाथका विषयमा धेरै विद्वान्हरूले सम्मानजनकका समीक्षाहरू गरे ।

किनभने उनी महान थिए । योगी नरहरिनाथ २००७ अघिदेखि नै विभिन्न राजनैतिक, सामाजिक र खास गरी आध्यात्मिक कार्यमा संलग्न थिए । उनको जीवनको इच्छाचाहिं विश्वभरि नै सनातन हिन्दू संस्कार र संस्कृति प्रतिष्ठापित गर्ने थियो । योगी नरहरिनाथ भन्थे ”नेपालीले नेपालीलाई जन्मभूमिको सेवार्थ सदैव दृढ प्रतिज्ञ रहनु पर्छ । आफ्नो मातृभूमिलाई तीर्थ सम्झी पसीना चुहाएर परिश्रम गरी सङ्कुचित मनोवृत्ति त्याग्नु पर्ने कुरामा उनको जोड हुन्थ्यो । उनले सजीव शब्दमा विश्वका समस्त ॐ कार परिवार सनातन हिन्दूपरिवारले ‘बसुधैव कुटुम्बकम्’, र ‘आत्मा खलु विश्वमूलम्’ जस्ता सनातन हिन्दू धर्मका विश्वकल्याणकारी, लोक कल्याणकारी सूत्रमाथि भाष्य गर्ने, व्याख्या गर्ने र त्यसको अन्तिम सरल रूप बनाउने योजना पनि बनाए । विश्वका समस्त ॐ कार हिन्दूहरूलाई एक सुत्रमा उनेर मोतीको एक सुन्दर हार बनाउने विषयको उनी कल्पना गर्थे ।

उनी नेपालको सनातन धर्म संस्कृती परम्परा भेष भुषा लिपि ग्रन्थ मौलिकता व्यापाक छ र यसैबाट यस लोकमा भौतिक उन्नति हुनुको साथै परलोकमा शान्ति हुन्छ भने कथन उनिको थियो। योगी नरहरिनाथ नेपालमा विदेशी संस्कृतिको हस्तक्षेपको कट्टर विरोधी थिए । त्यही क्रममा उनले नयाँ शिक्षालाई पनि विदेशी उपजको दोष लगाए र त्यही कारणले उनी फेरि जेल परे । तर उनी नडराई फेरि भन्थे ”यस्तै ताल हो भने यिनै विदेशीले राजसंस्था उखेली दिन्छन भनेर त्यस बेला बोलेका शब्द शब्द व्यवहारमा नै देखियो ।परधर्मी हरुले आफ्नो स्वार्थपुरा गर्न नेपाललाइ अस्थिर बनाउन दुई देश बिचको सबन्ध लाई असन्तुलित बनाउनेजस्ता कार्य बाट राजसंस्था नै उखेलियो , योगिका दुरर्दशि बोली मा सत्यता रहेको पाइन्छ । आज आएर राज संस्था को आवश्यक्ता किन र के का लागि रहेछ भन्नेमा नेपाली हरु प्रष्ट हुँदै गएको पाइन्छ ।

छिमेकी देश हरु समेत राज संस्था हुदाँ एवम नेपालमा स्थाइ शान्ती हुदाँ मात्र छेमेकी राष्ट्र सुरक्षित हुन्छौं भन्नेमा दुई मत रहेन । योगि एक अध्यात्मिक , वेद , वेदान्त , ईतिहास , पुरातत्व, पुराण जस्ता अति गहन विषयका ज्ञाता प्रकान्ड विद्वान, कुशल साहित्य सर्जक , सिद्धहस्त आँसु कवी, आज हामी विच भौतिक रुपमा नभए पनि सदैंव विचार मार्ग दर्शन र उहाँ ले दिएका सुम्पेका लिपि ग्रन्थ जीवित छन । योगिका काव्य हरुलाई छपाइ गर्न बाँकी रहेका र प्रकाशित भएका लाई पुन प्रकाशित गरि जन जन मा पुर्‍याउने दाहित्व अब हाम्रो जिम्मा रहेको छ । सबै को साझा दाहित्व पनि हो ।समाज लाई सत्यको संत्सङ्ग गराउनु मानव लाई साच्चै संस्कारयुक्त मानव बनाउने जिम्मा हाम्रो हो । राष्ट्र भावले ओतप्रोत भएका सनातन हिन्दु सभ्यता संस्कृती संस्कार मा योगिका दिव्य ज्ञान नै उपयुक्त र निर्भिकल्प आवश्यक देखिन्छ ।

उहाँ ले लेख्नु भएका कृति लाई पुनर्ताजगी र प्रकाशित हुन बाँकी लाई प्रकाशन गर्ने योगिको सदिच्छामा इट्टा थप्ने पवित्र कार्यमा श्री योगि नरहरिनाथ एवम अध्यात्मिक फाउण्डेशन अष्टेलिया ले गरेको कार्यप्रती ससत नमन छ। यश कार्यको निमित्त मिति २०८२ पौष १२ ,१३ र१४ गते ( २७- २८ र २९ December २०२५) श्रीमद भागवत ज्ञान महायज्ञ भागवत मन्जरी राधिका दाशी जी का मुखराविन्द बाट कथ श्रवण गराइ पुन्यकार्यमा संस्थाका अध्यक्ष नारायण शास्त्री पन्थी, उपाध्यक्ष, रामहरी थापा ,कोषाध्यक्ष अनिल ज्ञवाली , सचिव कृष्ण प्रसाद सुवेदी र प्रो -रन्जीत शाह लगायत को सकृयताले नयाँ आयम थप हुने देखिएको छ । यश अभियान ले सनातन धर्म संस्कृती , संस्कारको जागरणका साथै योगि प्रती को सच्चाँ सम्मान समेत हुने देखिएको छ ।भावी पिढीँ लाई समेत योगिको बारेमा जानाकारी एवम अन्तराष्ट्रीय क्षेत्रमा समेत योगि को सनतन धर्म संस्कृती र राष्ट्र प्रेमको चर्चाले नेपालको गौरव तथा उत्प्रेरणा समेत मिल्ने देखिन्छ । योगि का कृति प्रकाशन हुदाँ हिमवतखण्डको पुनर्जागरणमा थप आयम मिल्ने छ भने युगौ युगसम्म योगि नरहरिनाथका विचार जीवन्त हुनेछन । पुस्तौ पुस्ताले उहाँका विचारलाइ मार्गदर्शन बनाउने छन । योगिका कृति प्रकाशनले निरन्तर्ता पाओस । सबैको साथ सहयोग अपनत्व रहोस यहि शुभकामना ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर