झापा।
स्थानीय तहको निर्वाचनमा झापामा ठूला दलहरुले आफ्नो कतिपय पकेट क्षेत्र जोगाउन सकेनन् । झापाको १५ स्थानीय तह मध्ये १४ तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । अर्जुनधारा नगरपालिकामा भने आइतबार बिहानसम्म मतगणना जारी रहेको छ ।
८ नगरपालिका र ७ गाउँपालिका मध्ये ७ नगर र ७ वटै गाउँपालिकाको अन्तिम परिणाम शुक्रवाररातिसम्ममा सार्वजनिक भएको थियो । परिणाम सार्वजनिक भएको १४ स्थानीय तह मध्ये प्रमुख तथा अध्यक्ष पदमा एमालेले ६, कांग्रेसले ५ र राप्रपाले ३ स्थानमा जित हासिल गरेका छन् । उपप्रमुख तथा उपाध्यक्षमा भने एमालेले ११, कांग्रेसले २ र राप्रपाले १ स्थानमा जित हासिल गरेका छन् । परिणाम आउन बाँकी अर्जुनधारा नगरपालिकामा नेकपा एमाले अग्रस्थानमा रहेको छ । त्यहाँ एमालेका प्रमुख तथा उपप्रमुखका उम्मेदवार विजयी हुने निश्चित जस्तै देखिएको छ ।
माओवादी गाउँ, नगरको प्रमुख तथा उपप्रमुखमा शून्य देखियो । एमाले पहिलो त बन्यो तर जिल्ला नेताले नै हारे । कहीं एमाले र कहीं कांग्रेसको गढ भत्कियो । राप्रपा भने राम्रैसँग उदायो झापामा । सशस्त्र संर्घषबाट आएको तत्कालीन नेकपा माओवादी पहिलो संविधानसभाको निर्वाचनमा झापाबाट ५ स्थानमा विजयी हँुदै देशभरकै पहिलो शक्तिको रुपमा उदय भएको थियो । झापा क्षेत्र नम्बर १, २, ३, ४ र ७मा माओवादीले विजय हासिल गरेको थियो भने क्षेत्र नम्बर ५बाट कांग्रेस र ६ बाट एमाले बिजयी भएको थियो । पहिलो संविधानसभाले नयाँ संविधान दिन नसकेपछि दोश्रोपटक भएको निर्वाचनमा भने झापामा माओवादीले नमिठो हार व्यहोर्नु प¥यो भने ४ स्थानमा एमाले र ३ स्थानमा कांग्रेसले बिजय हासिल ग¥यो ।
एमाले र कांग्रेसलले आफ्नो पकेट क्षेत्रको रुपमा हेरेका स्थानमा विपक्षी दलका उम्मेदवारले विजय हासिल गर्दा अन्तरघात र धोका भएको भन्दै पार्टीभित्र विवाद शुरु भएको स्रोतले बताएको छ ।
एमाले नेताको लज्जास्पद हार
झापामा हालसम्म सार्वजनिक १४ स्थानीय तहको नतिजा अनुसार एमालेले ६ तहमा जित हासिल गरे पनि जिल्ला अध्यक्ष र सचिवले भने आफ्नै स्थानीय तहमा हार बेहोरेका छन् । बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा उठेका पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक र गौरादह नगरपालिकाको प्रमुखमा उठेका जिल्लासचिव मदन अधिकारीले पराजय व्यहोरेका हुन् । तर उनीहरू उठेका तहमा भने उपाध्यक्ष र उपप्रमुख एमालेले नै जितेकोे छ । बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रमेश भुजेल विजयी भएका छन् । पाठक आफ्नै गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित हुनु प¥यो ।
गौरादहमा एमाले सचिव अधिकारीलाई कांग्रसेका रोहित साहले हराएका हुन् । जिल्ला अध्यक्ष पाठकले भने आफ्नै कारणले हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । जिल्ला तहका नेताहरुले नै लज्जास्पद हार व्यहोरेपछि अब उनीहरुले आफ्नो जिम्मेवारीबाट राजीनामा देलान् कि नदेलान् भन्ने विषय उठ्न थालेको छ । सांसद रवीन कोइरालाको क्षेत्रमा पनि एमाले हा¥यो । त्यहाँ कांग्रेसका बिमल आचार्य प्रमुखमा विजयी भए भने एमालेका विष्णु प्रसाईं पराजित भए ।
कांग्रेसका पुराना गढ भत्किए
नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी क्षेत्रमा नराम्रोसंग पराजय भोग्नु प¥यो । भद्रपुर कांग्रेसका क्षेत्रको रुपमा हेर्ने गरेपनि यसपटक भने एमालेले उक्त स्थानमा बिजय हासिल गरेको छ ।
यता मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको विर्तामोड अर्थात् संसदीय क्षेत्र नम्बर–२ मा पनि एमालेले विजय हासिल गरेपछि सांसद सुधिर शिवाकोटीको क्षेत्रमा एमालेले नै जीत दर्ता गराएको छ । पुरानो र पकेट क्षेत्रको रुपमा हेरिएका स्थानमा विपक्षी दलका उम्मेदवारले विजय हासिल गरेपछि दलहरुले समीक्षा गर्न शुरु गरेका छन् ।
तेस्रो शक्ति बन्यो राप्रपा
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एक सिट समेत जित्न नसकेको राप्रपाले दोस्रो चरणको निर्वाचनमा भने झापामा मात्रै तीन स्थानमा बिजय हासिल गरेको छ । झापामा एमाले, कांग्रेसपछि तेस्रो शक्तिको रुपमा राप्रपाको उदय भएको छ । झापाको कचनकबल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपाले बिजय हासिल गरेको हो ।
३३१ को घोषणा
दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ ।
देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणना अनुसार, नेकपा एमाले १४८, नेपाली कांग्रेस १२२, नेकपा ९ माओवादी केन्द्र० ३८, संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपा ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी भएका छन् ।
त्यस्तै तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख÷अध्यक्ष पदमा विजय भएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्ष पदमा नेकपा एमालेले सबै भन्दा धेरै अर्थात् ४४।८ प्रतिशत पदमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ३६।७ र माओवादी केन्द्रले ११।५ प्रतिशत पद जितेका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र [जेइओसी}का अनुसार प्रदेश नम्बर– १का १३४, प्रदेश नम्बर ५का १०९ र प्रदेश नम्बर ७को ८७ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७२, नेपाली कांग्रेस १०३, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका दुईजना उम्मेदवार विजयी भएकोे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ ।
दोस्रोचरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । दोस्रो चरणको निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।